Aamsanchar

मन्त्री किराँतीको राजीनामा माग्दै विरोध प्रदर्शन

Author Image
बिहिवार, पौष ५, २०८०

काठमाडौं –संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको राजीनामा माग्दै नेपाल सनातन धर्म संस्कृति संगठनहरुले आन्दोलन गरेका छन् ।

बिहीबार उनीहरुले बुधबार मन्त्री किराँतीले एक सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिप्रति असन्तुष्टि व्यक्त गर्दै राजीनामा माग गरेका हुन् ।

विरोध प्रदर्शनमा सहभागीहरुले गैरजिम्मेवार मन्त्री बर्खास्त गर्, सुदन किराँती राजीनामा दे, धार्मिक क्षेत्रमा गैरधार्मिक नियुक्ति बन्द गर् लगायतका प्लेकार्ड बोकेर नाराजुलुस गरेका थिए । बुधबार मन्त्री किराँतीले एक सार्वजनिक कार्यक्रममा क्रिश्चियन धर्मलाई स्वीकार नगर्ने सबै देशद्रोही भएको आरोप लगाउँदै क्रिश्चियन धर्म नस्वीकार्नेहरुलाई जेलमा राख्नुपर्ने अभिव्यक्ति दिनुभएको थियो । सोही अभिव्यक्तिलाई लिएर अहिले मन्त्री किराँतीको देशभर विरोध भइरहेको छ ।

विरोध प्रदर्शनमा बोल्दै नेपाल सनातन धर्म संस्कृति संगठनका अध्यक्ष पुष्पराज पुरुषले देशको बहालवाला मन्त्रीले कुनै समुदायको कार्यक्रममा गइ अरु समुदायलाई निन्दा गर्दै एउटा समुदायलाई उचालेर अपमानजनक अभिव्यक्ति दिनु गलत भएको बताउनुभयो । उहाँले मन्त्रीको अभिव्यक्ति मन्त्रीको पदमा बस्नका लागि योग्य नरहेकाले तत्काल बर्खास्त गर्नुपर्ने माग गर्नुभयो । मन्त्री भएर सामाजिक सद्भाव बिगार्ने काम गरेको उहाँको भनाइ छ ।

उहाँले धार्मिक क्षेत्रमा गैरधार्मिक व्यक्तिहरुको नियुक्ति बन्द गर्नुपर्ने र धार्मिक क्षेत्र पार्टीका कार्यकर्ता भर्ती केन्द्र बनाइनु नहुने बताउनुभयो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको अध्यक्षता पशुपति क्षेत्र विकास सञ्चालक परिषद्को बैठकले बुधबारमात्रै पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा लक्ष्मी पुनलाई नियुक्त गरेको थियो । अहिले सो नियुक्ति पनि विवादित बनेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 104

प्रतिक्रिया (०)

सम्बन्धित खबर