Aamsanchar

फागुनसम्ममा प्रदेशलाई अधिकार सम्पन्न नबनाए सिंहदरबार घेर्ने : विश्वप्रकाश शर्मा

Author Image
शनिवार, पौष ७, २०८०

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले फागुनसम्ममा प्रदेशलाई अधिकार सम्पन्न नबनाए सिंहदरबार घेर्ने चेतावनी दिनुभएको छ ।

शनिबार बागमती प्रदेशको प्रदेश सम्मेलनलाई काठमाडौंमा सम्बोधन गर्दै महामन्त्री शर्माले यस्तो बताउनुभएको हो । उहाँले कांग्रेसको प्रदेश सम्मेलन भइरहँदा हरेक ठाउँमा प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्ने माग उठेको भन्दै प्रदेश सरकारले राखेका मागहरु पूरा गर्न आग्रह गर्नुभयो ।

महामन्त्री शर्माले कांग्रेस महासमिति बैठकसम्म अधिकार सम्पन्न बनाउने गरी कानून आएन भने महासमितिको बैठकबाट निर्णय गरेर कांग्रेसले सिंहदरबार घेर्ने बताउनुभयो । उहाँले प्रदेश सरकारले आफ्नो अधिकार मागेकाले अधिकार दिन कन्जुस्याँई नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गर्नुभयो ।

महामन्त्री शर्माले रुस-युक्रेनको सेनामा अवैधानिक रुपले नेपालीहरुलाई पुर्याउनेहरुलाई कारबाही गर्नुपर्ने बताउनुभयो । उहाँले युद्धमा मृत्यु नेपालीहरुको शव गनेर बसेर मात्रै राज्यको कर्तव्य पूरा नहुने भन्दै त्यहाँका राजदुतलाई कुरा गरेर वा सम्बन्धित निकायहरुसँग कुरा गरेर यस विषयलाई गम्भीरतापूर्वक लिन सरकारलाई आग्रह गर्नुभयो ।

महामन्त्री शर्माले त्रिभुवन विश्वविद्यालयमा उपकुलपतिको नियुक्ति र शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा कार्यकारी निर्देशकको विषय चर्चामा रहेको भन्दै राजनीतिक भागबण्डा नभइ योग्य व्यक्तिको नियुक्ति हुनुपर्ने बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 86

प्रतिक्रिया (०)

सम्बन्धित खबर