Aamsanchar

खोटाङमा घरमा आगलागी हुँदा १५ लाख भन्दाबढीको क्षति, सुत्केरीसहित परिवार विचल्लीमा

Author Image
सोमवार, पौष ९, २०८०

खोटाङ – खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मास्थित बर्मीका रामबहादुर सार्कीको घरमा आगलागी हुँदा रु १५ लाख बढीको क्षति भएको छ।

उनले आगलागीबाट जस्तापाताले छाएको तीनतले घर, नगद १ लाख ५० हजार, डेढ तोला सुन, १४ तोला चाँदी, जग्गा धनीपुर्जासतिहका कागजात, लत्ताकपडा, भाँडाकुडा, अन्नपानी, काठपातलगायतका सामग्री जलेर नष्ट भएको बताए।

आफन्तले दिएको ओढ्नेरओछ्याउने लिएर मतानमा बास सरिएको आगलागी पीडित रामहादुरले पीडा सुनाए, ‘घरमा भएका सम्पूर्ण सामग्री जलेर खरानी भयो। ऋण तिर्न भनेर तयार गरेको १ लाख ५० हजार नगदसमेत जल्यो। अहिले बस्ने बासकै टुङ्गो छैन। हामी त जसरी पनि बस्थिम्। सुत्केरी बुहारी र नाबालक नातिको विचल्ली भयो।’

राहतका लागि आफूले वडा कार्यालयमा निवेदन दिएको रामबहादुरले जानकारी दिए। ‘राहतका लागि वडा कार्यालय टेम्मा गएर निवेदन दिएको छु। यो बेला सबैले सहयोग गरिदिनुहोला,’ उनको अनुनय छ। ​

जिल्ला विपत् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले आगलागी पीडितलाई सहयोग गरिन लागेको जानकारी दिए। यसैबीच आगलागीको उच्च जोखिममा रहेको खोटाङमा प्रहरीले ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमअन्तर्गत जिल्लाका दशवटै स्थानीय तहमा आगलागी नियन्त्रणसम्बन्धी जनचेतनामूलक अभियान सञ्चालन गरिरहेको छ।

अभियानका क्रममा प्रहरीले विद्यालय, हाटबजार, मन्दिरलगायतमा जनचेतनामूलक कार्यक्रम गर्दै आगलागीका घटना हुन नदिन तथा भएमा बच्ने उपायका बारेमा जानकारी दिने गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 24

प्रतिक्रिया (०)

सम्बन्धित खबर