Aamsanchar

शृंखलाबद्ध चोरी गर्ने गिरोह पक्राउ

Author Image
सोमवार, पौष ९, २०८०

परासी – नवलपरासीका विभिन्न स्थानमा शृंखलाबद्ध चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। सरकारी कार्यालयदेखि विभिन्न व्यक्तिहरूको घरमा पसेर चोरी गर्ने ६ जनाको गिरोहलाई प्रहरीले पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो।

पक्राउ परेका व्यक्तिहरूबाट विभिन्न समयमा चोरी गरेका सामग्रीहरूसमेत प्रहरीले बरामद गरेको छ। उनीहरूले विभिन्न समयमा सुनवल र रामग्राम नगरपालिकामा रहेका सरकारी कार्यालय र व्यक्तिको घरमा पसेर गरगहनादेखि विभिन्न सामानहरू चोरी गरेको पाइएको हो। शृंखलाबद्धरूपमा चोरी गर्नेमध्ये सुनवल क्षेत्रबाट ३ जना र रामग्राम नगरपालिका क्षेत्रबाट ३ जना पक्राउ परेका हुन्।

 

 

चोरी गरेपश्चात सामान खोजतलास गरिदिन भन्दै पीडितहरूले शंकास्पद् व्यक्तिहरूको हुलियासहित उजुरी दिएपछि सोही आधारमा उनीहरू पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी रमेश बोहराले जानकारी दिए। ‘पीडितहरूले दिएको उजुरीका आधारमा चोरी गर्ने शंकास्पद् व्यक्तिहरूको घर र डेरा खानतलास गर्दा चोरीका सामानहरू बरामदसँगै उनीहरूलाई पक्राउ गर्‍यौं,` डीएसपी बोहराले भने।
६ जनाको घर र डेरामा खानतलासी गर्दा चाँदीका गहना, कम्प्युटर, साइकल, मोबाइल, घडी, पेन ड्राइभ, कार्ड रिडर, ग्यास चुलोलगायत विभिन्न १५ प्रकारका सामानहरू फेला परेको डीएसपी बोहराले बताए।

सुनवल क्षेत्रमा चोरी गरी पक्राउ पर्नेमा बर्दघाट नगरपालिका(१ घर भई हालः सुनवल नगरपालिका-२ खैरनी बस्ने अविनाश पंगेनी, गुल्मी मुसीकोट नगरपालिका-९ घर भई हालः सुनवलकै खैरनी बस्ने सुवास विश्वकर्मा र रोल्पा खुमेल गाउँपालिका घर भई हाल सुनवलकै खैरनी बस्ने मिलन घर्ती मगर छन्।

त्यस्तै रामग्राम नगरपालिकाको परासी बजारस्थित स्वास्थ्य कार्यालयबाट कम्प्युटर, साइकल चोरी गर्ने व्यक्ति पनि पक्राउ परेका छन्। उनीहरूले गत शनिबार राति कार्यालयको दुई तलामा रहेको कोठाबाट उक्त सामग्री चोरी गरेको प्रहरीले जनाएको छ। चोरीका सामानसहित पक्राउ पर्नेमा रामग्राम नगरपालिका-६ पोखरापालीका कृष्णमोहन अग्रहरी बनिया, वडा नं। ५ का अमृत अग्रहरी र वडा नं.७ उजैनीका रोशन आचार्य रहेको प्रहरीले जनाएको छ। पक्राउ पर्ने ६ जना १९ देखि ३१ वर्ष उमेर समूहका छन्। उनीहरू सबैलाई चोरी तथा डाँका सम्बन्धी कसुरमा मुद्दा अगाडि बढाइएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 94

प्रतिक्रिया (०)

सम्बन्धित खबर