Aamsanchar

दाङमा रहेको थारु संग्रहालय अनुसन्धानको केन्द्र बन्दै

Author Image
सोमवार, पौष ९, २०८०

देउखुरी –दाङको दङ्गीशरण गाउँपालिका(३ चखौरामा रहेको थारु जातिको इतिहास र संस्कृति बचाउने ‘चखौरा संग्र्रहालय’ मा अध्ययन तथा अनुगमन गर्नेको घुइँचो लाग्ने गरेको छ । पछिल्लो समय आन्तरिक र बाह्य पर्यटक यस संग्र्रहालयमा अध्ययन-अनुगमनका लागि आउने गरेका हुन् ।

घोराही उपमहानगरपालिका(१५ भरतपुरमा रहेको पद्मोदय पब्लिक नमुना माध्यामिक विद्यालय शिक्षा सङ्कायको कक्षा १२ मा अध्ययनरत विनिता केसी विद्यालयको अध्ययन(अनुगमनका लागि दङ्गिशरण(३ मा रहेको थारु संग्रहालयमा जानुभयो । संग्रहालयभित्र प्रवेश गर्ने गेटको अगाडि थारु राज्यका अगुवाको मूर्ति र उनीहरूले शासन गरेको भूगोलको नक्शा देख्दा सबैले चाख मानेर हेरेको उहाँले बताउनुभयो  ।

यहाँ पुग्दा थारु जातिको पहिचानलाई बचाइ राख्नलाई तयार गरिएको संग्रहालय देख्दा खुसी लागेको केसीले बताउनुभयो । लोप हुन लागेको संस्कृतिसँग जोडिएका थारु समुदायका पुराना सामान, गहना र पोसाक संरक्षण गरेर राखेको देख्दा खुसी लागेको उहाँको भनाइ थियो । सोही विद्यालयमा कक्षा १२ मा अध्ययनरत सुशीला चौधरीले पनि संग्र्रहालय अवलोकन गर्नुभयो । उहाँले थारु गाउँको झल्को दिने परम्परागत घर, कोठा र देउता राख्ने ठाउँ देख्दा खुसी लागेको बताउनुभयो ।

थारु समुदायमा लोप हुन लागेका गरगहना, कपडा र विवाहमा दुलाहा(दुलही बोक्ने डोली संग्रह गरेर राखिएको उहाँले जानकारी दिनुभयो । “घरमा हजुरआमाले आफ्ना पालका गरिने चालचलन र सामग्रीको बारेका सुनाउने गर्नुहुन्थ्यो यहाँ पुगेर सबै अवलोकन गर्न पाउँदा खुसी लागेको छ”, चौधरीले भन्नुभयो, “थारु जातिका परम्परा, नाचगान, चाडपर्व र सामाजिक जीवन झल्किने चित्र घरको भित्तामा सजिएका छन् । थारु राजाले कसरी राज्य सञ्चालन गरेका थिए भन्ने झल्काउन मूर्ति र नक्शा कोरिएका छन् ।”

विद्यालयका शिक्षक प्रकाश देवकोटाले विद्यालयमा शिक्षा सङ्कायका विद्यार्थीलाई आन्तरिक पर्यटकीयस्थलको अवलोकन गराएर स्थानीयस्तरमा भएका कला संस्कृतिका बारेमा जानकारी गराउने गरिएको बताउनुभयो । विद्यार्थीले पुस्तकमा पढेका कुराले मात्रै नपुग्ने भएकाले उनीहरुलाई स्थलगत अध्ययन गराउने गरिएको उहाँको भनाइ थियो । आफ्नै आँखाले देखेका कुरा विद्यार्थीले छिटो सम्झने भएकाले विद्यार्थीलाई अध्ययन(अवलोकन गराउने गरिएको उहाँले बताउनुभयो ।

लुम्बिनी प्रदेश सरकारबाट दङ्गीशरण(३ चखौरामा रहेको थारु संग्रहालयमा पार्क निर्माणका लागि ५० लाख, मूर्ति निर्माण तथा खरिद गर्न ५० लाख, माथिल्लो तलामा थारु घर तथा विश्राम स्थल निर्माण गर्न ३० लाख छुट्याइएको संग्रहालयका सह व्यवस्थाक नरेन्द्र चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो समय यहाँ आन्तरिक तथा बाह्य पर्यटक अध्ययन अनुगमनका लागि आउने गरेका छन् । यो वर्ष मात्रै ३६ जना विदेशी पर्यटक संग्रहालय अवलोकनका लागि आएका चौधरीले जानकारी दिनुभयो ।

सातवटै प्रदेशका पर्यटक यहाँ आउने गरेका उहाँको भनाइ थियो । यस वर्ष एक लाख भन्दा धेरैले संग्र्रहालयको अवलोकन गरेको उहाँले जानकारी दिनुभयो । शनिबार र सार्वजनिक बिदाको दिन धेरै आन्तरिक पर्यटक आउने गरेका छन् । दैनिक तीन सयदेखि चार सयको सङ्ख्यामा आन्तरिक पर्यटक आउने गरेका चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार साधारण नगरिकलाई ७०, विद्यार्थी तथा ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई ५० प्रवेश शुल्क लिने गरिएको छ । “थारु पहिरन लगाएर फोटो खिच्न चाहनेका लागि ड्रेसको एक सय, संग्रहालय पछाडि रहेको जलाशयमा डुङगा चलाउन ५० तोकिएको छ”, उहाँले भन्नुभयो ।

पर्यटकीयस्थलको संरक्षण गर्नका लागि स्थानीय, प्रदेश र संघ सरकार तथा पर्यटन बोर्डको पनि लगानी रहेको चौधरीले बताउनुभयो । तुलसीपुर उपमहानगरपालिकाबाट ११ किलोमिटर पश्चिममा रहेको चखौरा पुग्न अटो रिक्साको सुविधा छ । अटो रिक्सालाई एक सय दियो भने संग्रहालयसम्म पुग्न सकिन्छ । पुरानो र नयाँ पुस्ताबीच ठूलो अन्तर रहेकाले पुरानो लोकसंस्कृति पुस्तान्तरण गर्नका लागि थारु संग्रहालयले सकारात्मक भूमिका खेलेको थारु संस्कृतिका ज्ञाता अशोक थारूले बताउनुभयो । “संस्कृति हस्तान्तरण नहुँदा लोपहुँदै गएका छन् । यसलाई बचाउन संग्रहालयले सहयोग पुगेको छ,” उहाँले भन्नुभयो, “नयाँ पुस्ताले थाहा नपाएका धेरै कुरा यहाँ संकलन गरिएका छन् । हाम्रो पहिचान सुरक्षित हुनेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 110

प्रतिक्रिया (०)

सम्बन्धित खबर