यःमरिको त्रिकोणात्मक आकारले षटकोणको अर्ध भागको रूपमा सरस्वती अथवा ज्ञानको प्रतिबिम्बको रूपमा लिइन्छ । पानीको देवताका रुपमा काठमाण्डौवासी ले मछिन्द्रनाथलाई मानेजस्तै अन्न अथवा उब्जनीकी माता अन्नपूर्णालाई नयाँ उब्जनी अनि त्यसबाट बनेको खानेकुरा यःमरि चढाउने परम्परा चली आएको हो । यःमरिको प्रसङ्ग देवगणसँग पनि जोडिएर आउँछ, नेवार समुदायमा प्रचलित कथाहरूका अनुसारः यःमरि देखा परेकै दिन धनका राजा कुबेर भेष बदलेर बाटोमा हिँडी रहेका हुन्छन् यसरी भेष बदलेर हिँडिरहेका बटुवा कुवेरबारे थाहै नभए पनि उनलाई सत्कारपूर्वक सप्रेम यःमरि खान दिएको कथा छ । कुबेर यो सत्कारबाट प्रसन्न भई धनधान्यले अपार वरदान दिएको मानिन्छ । यःमरि झै सबैको जीवनमा मिठास होस्, स्वास्थ्य राम्रो होस् अनि सबैको यो हिउँद राम्रोसँग बितोस् ।
नेपाली पारम्परिक चाडबाड तथा संस्कृतिका विशेष क्षणहरूमा विविध साङ्गीतिक अभ्यासहरूले पनि आफ्नो बेग्लै स्थान बनाएको छ । शायदै त्यस्ता कुनै चाडबाड होलान् जसमा विशेष खाले गीत सङ्गीतले ठाउँ नपाएको होस् । यःमरि पुन्हिका दिन पनि यससँग सम्बन्धित विशेष नेपाल भाषामा गाइने एउटा विशेष गीत छ
यःमरि च्वामु, उकिइ दुने हामु,
बिउम्ह ल्यासे, मबिउम्ह बुरिकुति
त्यः छिं त्यः, बकछिं त्यः
लातापाता कुलिचां जुसें त्यः….
यस दिन केटाकेटीहरू रमाइलो गर्दै छरछिमेकको दैलोमा गएर यःमरि माग्ने चलन पनि छ, काठमाण्डौको हरिसिद्धी र ठेंचोमा आज एउटा विशेष मुखौटो लगाएर नाच देखाइने चलन पनि परापूर्व कालदेखि हुँदै आएको पाइन्छ । योमरी कसरी बन्यो भन्ने कुराहरूमा भने अहिलेको पनौती रहेको ठाउँमा एउटा परिवारले नयाँ धानको चामलबाट बनाएको नयाँ खाले परिकारका रूपमा योमरी देखा परेको र सम्पूर्ण गाउँलेहरूलाई उक्त परिकार चाख्न दिएकोमा सबैलाई मन परेर योमरी नाम दिएको जनउक्ति छ, नेपाल भाषामा यःमरि भनेको मन पर्ने रोटी भन्ने अर्थ लाग्छ जसले गर्दा विशेष गरी शुभकार्य, हर्ष उल्लासको काममा देवखट, देवता, घर, साना नानीहरू, बृद्धाबृद्धाहरूलाई चढाउने कार्य नेवारहरूको आफ्नो मौलिक परम्परा हो ।