Aamsanchar

संयुक्त सरकारको एक वर्ष, सडक पूर्वाधारको अवस्था ?

Author Image
मङ्गलवार, पौष १०, २०८०

झापा । संयुक्त सरकारबाट एक वर्ष अवधीमा गरेका मुख्य कार्यहरु आज सार्वजनिक गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आज राष्ट्रको नाममा गरेको सम्बोधनका क्रममा ८८ पृष्ठको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।  प्रस्तुत प्रतिवेदनमा सडक पूर्वाधानको क्षेत्रमा गरिएको कामको विवरण पनि समावेश गरिएको छ ।

उक्त प्रतिवेदकमा उल्लेख भए अनुसार यस वर्ष थप ७७६.६१ कि.मि. कालोपत्रे सडक, ५८७.५ कि.मि. ग्राभेल सडक, १८१.२९ कि.मि. नयाँ ट्रयाक र २१९ वटा पुल निर्माण सम्पन्न भएको छ । २१७ कि. मि. सडक कालोपत्रे स्तरमा पुनर्निर्माण तथा स्तरोन्नति र ५५३.६५ कि. मि. सडकको आवधिक मर्मत–सम्भार कार्य सम्पन्न भएको उल्लेख छ ।

त्यसैगरी काठमाडौँ–तराई-मधेस द्रुतमार्ग आयोजना अन्तर्गत निर्माणाधीन सुरुङहरूमध्ये थप ३ हजार ५३५ मिटर सुरुङ खन्ने कार्य सम्पन्न भएको छ । आयोजनाको समष्टिगत भौतिक प्रगति २८.५६ प्रतिशत रहेको छ ।
नागढुङ्गा–नौबिसे सुरुङमार्गको थप १३९८.४ मिटर सहित हालसम्म जम्मा ५३८४.४० मिटर सुरुङ खन्ने कार्य सम्पन्न भएको र आपत्कालीन सुरुङको ब्रेक थ्रू भएको छ । सिद्धबाबा सुरुङमार्गको निर्माण कार्य पनि सुरु गरिएको छ ।

नारायणी नदीमा सिग्नेचर पुल निर्माणको लागि ठेक्का सम्झौता भएको । सेती नदीमा सिग्नेचर पुल निर्माण कार्य, मादी नदी पुल निर्माण र तिनाउ नदीमा सिग्नेचर पुल निर्माणको सुरुवात भएको प्रतिवेदनमा जनाइएको छ ।

नेपालमा रेलसेवा विस्तारको लागि बर्दिवास–चोचा खण्डमा थप ७ कि.मि. ट्रयाकवेड निर्माण भई हालसम्म ६१ कि.मि ट्रयाकवेड निर्माण सम्पन्न भएको छ । थप ५ वटा रेलपुलहरू निर्माण भई हालसम्म १२ वटा रेलपुलहरू निर्माण सम्पन्न भएको छ । चक्रपथको यातायात व्यवस्थापनलाई सहज बनाउन ललितपुरको ग्वार्कोमा फ्लाइओभर निर्माण कार्य चालु रहेको छ ।

नेपालमा उत्पादन वा जडान भएका सवारी साधनहरूको दर्ता प्रक्रिया सहजीकरण गर्न यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० परिमार्जन गरी कार्यान्वयनमा ल्याइएको छ ।
काठमाडौँ उपत्यकामा ट्राफिक व्यवस्थापनलाई सहज बनाउन काठमाडौँको रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म द्रुत बस सेवा सञ्चालन सुरु भएको छ । बस सेवा सञ्चालन तथा प्रयोगको सूचना अनलाइन प्रणाली (मोबाइल एप्स) मा प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ ।

अनलाइन सवारी साधन दर्ता प्रणाली (भिआरएस) विभिन्न प्रदेशका ११ वटा यातायात व्यवस्था कार्यालयहरूमा जडान भएको। यस अवधिमा थप ३,९०,२४९ थान सवारी चालक अनुमति पत्रको स्मार्ट कार्ड छपाइ भई वितरणका लागि पठाइएको। यस अवधिमा थप ३,२८,३२६ थान इम्बोस्ड नम्बर प्लेटको उत्पादन भएको प्रतिवेदनमा उल्लेख छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 127

प्रतिक्रिया (०)

सम्बन्धित खबर