Aamsanchar

मोरङमा एकैरात तीनवटा सुनचाँदी पसलमा चोरी

Author Image
बुधवार, पौष ११, २०८०

विराटनगर – मोरङमा एकैरात तीनवटा सुनचाँदी पसल (ज्वेलर्स)मा चोरी भएको छ। बेलबारी नगरपालिका-१ स्थित पसलमा मंगलबार राति चोरी भएको प्रहरीले जनाएको छ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार पसलको चाबी र सटर फोडेर बेलबारी-१ को न्यू बराइली कारखाना एण्ड ज्वेलर्स, नवरत्न ज्वेलर्स र न्यू वराह ज्वेलरीमा चोरी गरिएको छ। नेत्रप्रसाद दाहालको घरमा डेरा गरेर बस्ने छत्रबहादुर विक (साजन)ले सञ्चालन गरेको न्यू बराइली ज्वेलर्सबाट चाँदीको बुटी सयवटा (अन्दाजी २५ तोला), तामाको बुटी सयवटा (अन्दाजी ३ सय ग्राम) र ४ आनाको सुनको पोते चोरी भएको डीएसपी दाहालले बताए।

 

उनका अनुसार ईश्वरी चौलागाईंको घरमा डेरा बस्ने रत्नमाया सुनार र किरण सुनारले सञ्चालन गरेको नवरत्न ज्वेलर्सबाट २ किलो बराबरको सुन र चाँदीका सामग्री तथा गहना चोरी भएको छ। ज्वलेर्सबाट ४ आनाको सुनको जन्तर, १ तोला ५ आना काँचो सुन तथा चाँदीका सिक्री, ब्रासलेट, पाउजू, औंठी, बुटिकका सामग्री, करुवा, दियो, चम्चा, चुरा, कल्लीसमेत चोरी भएको जानकारी दाहालले दिए।

त्यस्तै कूलबहादुर दर्नालले सञ्चालन गरेको न्यू वराह ज्वेलरीबाट ११ किलोग्राम बराबरको चाँदीबाट बनेका गहना र सामग्री चोरी भएको प्रहरीले जनाएको छ। चाँदीबाट बनेको एउटा खड्कुँलो, ६ वटा करुवा, एउटा गाग्री, १२ वटा थाली, २ वटा बटुका, चुरा, पाउजू, कल्ली, कम्मर बेल्ट, औंठी, बिच्छी, लकेट, ब्रासलेटलगायत चोरी भएको दाहालको भनाइ छ।
उनका अनुसार पसलहरुमा रातको कुन समयमा चोरी भएको हो र घटनामा कसको संलग्नता छ भन्ने यकिन भइसकेको छैन। घटनाको प्रकृति हेर्दा एउटै समूहले चोरी गरेजस्तो देखिने उनले बताए। डीएसपी दाहालका अनुसार इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर तेजबहादुर दाहाल नेतृत्वको टोलीले घटनाको अनुसन्धान सुरु गरेर चोरीमा संलग्नको खोजी तीव्र पारेको छ।

चोरी भएका ज्वलेर्सरूमा सीसी क्यामेरा जडान नगरेको पाइएको छ। सीसी क्यामेरा नभएका कारण चोरीमा संलग्नलाई पहिचान गर्न मुस्किल परिरहेको दाहालले बताए। उनका अनुसार घटनास्थल वरपर रहेका सीसी क्यामेराको अध्ययन गरेर चोरीमा संलग्न गिरोह पत्ता लगाउने प्रयास भइरहेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 96

प्रतिक्रिया (०)

सम्बन्धित खबर