Aamsanchar

सहारा नेपाल स्वास्थ्य क्षेत्रमा पनि, विश्वास परियोजना झापा र मोरङमा सञ्चालित

Author Image
बुधवार, पौष ११, २०८०

चारपाने । सहारा नेपालले विश्वास परियोजनाको विषयमा झापाली पत्रकारहरू सँग अन्तरक्रिया गरेको छ ।
आज (बुधबार) बिर्तामोड–२ चारपाने स्थित सहारा नेपालको केन्द्रिय कार्यालयमा उपेक्षित तथा उष्ण प्रदेशीय रोग, मातृ शिशुस्यार र अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य सुधारमा सञ्चार क्षेत्रको भूमिका विषयमा अन्तरक्रिया गरेको हो ।

सहारा नेपालले विगत दुई वर्ष देखि फेयरमेड फाउण्डेसन नेपालको आर्थिक सहयोगमा विश्वास परियोजना सुरु गरेको थियो ।

झापा  र मोरङ जिल्लाका स्वास्थ्य उच्च जोखिम पालिकाहरूमा नागरिक स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको सहारा नेपालले स्थानीय स्वास्थ्य प्रणालीलाई सुदृढ पार्ने र स्वास्थ्य व्यवहार प्रर्वद्धन, शिक्षा सशक्तीकरण र स्थानीय समुदायलाई परिचालन गर्ने लक्ष्य राखेर पालिका तथा जिल्ला स्वास्थ्य कार्यालयसँग समन्वय गरेर कार्य गर्दै आएको सहारा नेपालका अध्यक्ष भरत गिरीले जानकारी दिए ।

सरकारले उचित ध्यान दिन नसकी रहेको उपेक्षित उष्ण प्रदेशीय रोगहरू कुष्ठरोग, हात्तीपाइले, जुका, डेंगी र चिकनगुनिया, कालाजार, सर्पदंश, रेबिज, लुतो र फित्ते जुका निर्मूल पार्ने अभियान अन्तरगत सहारा नेपालले काम गर्दै आएको छ ।

सामुदायिक स्वास्थ्य सेवामा रहेर स्वास्थ्य सेवा प्रवाह गर्दै आएका स्वास्थ्यकर्मी र सम्बन्धित निकायको व्यवस्थापकीय क्षमता शुद्धिकरण गरी, सामुदायिक स्वास्थ्य सेवालाई एकीकृत र गुणस्तरीय बनाउने, समुदायका व्यक्तिहरूको क्षमतामा वृद्धि गरी स्वास्थ्य सेवामा पहुँच बढाउने परियोजनाको उद्देश्य रहेको छ ।

परियोजना अन्तरगत हाल तीनवटा स्वास्थ्य अवस्था उपेक्षित उष्ण प्रदेशीय रोगहरू, मातृ तथा नवजात शिशु कार्यक्रम र अपाङ्गता समावेशी विकासमा केन्द्रित रहेर परियोजनाले काम गर्दै आएको सहारा नेपालका सचिव महेन्द्रकुमार गिरीले बताए ।

विश्वास परियोजनाले हाल झापाका गाउँपालिकाहरू, झापा, बाह्रदशी, हल्दीबारी, गौरीगञ्ज, कचनकवल गाउँपालिका र नगरपालिकाहरू गौरादह, कनकाई, बिर्तामोड, भद्रपुर र मेचीनगर नगरपालिकामा काम गर्दै आएको छ ।

परियोजना मार्फत करिव दुई दर्जन जति कार्यक्रमहरू सम्पन्न भएको छ । जसमा मातृशिशु स्वास्थ्य तथा उष्ण प्रदेशीय रोग जोखिम क्षेत्रहरूमा सचेतना, स्थानीय स्वास्थ्य सञ्चालन तथा व्यवस्थापन समितिको क्षमता अभिवृद्धि तालिम, उपेक्षित रोगहरूको बारेमा विद्यालयहरूमा सचेतना, स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरू र  महिला स्वास्थ्य स्वयम्सेविकाहरूलाई एनटीडी तालिम, छाला शिविर, वर्थिङ सेन्टरमा कार्यरत स्वास्थ्यकर्मीहरूको लागि क्षमता विकास कार्यक्रम, विपन्न वर्गलाई कीटनाशक झुल वितरण, बर्थिङ सेन्टरको लागि आवश्यक सामग्री हस्तान्तरण, डेंगीको महामारी फैलिएको समयमा स्थानीय तह सँग सहकार्य गरि डेंगी रोकथामका कार्यक्रम, स्वास्थ्य आमा समूहको बैठकमा सहयोग, मिडिया मार्फत सचेतना फैलाउने काम, नियमित कुष्ठरोगी तथा हात्ती पाइले रोगीहरू सँग भेटघाट तथा रेखदेख लगायतका कार्यक्रमहरू रहेका छन् ।

दुई वर्षमा सहारा नेपालले परियोजना अन्तरगत सन्तोषजनक उपलब्धीहरू प्राप्त गरेको छ ।  प्राप्त उपलब्धीहरुमा ४२७ जना स्वास्थ्यकर्मीहरूलाई क्षमता अभिवृद्धि तालिम दिई सकेको छ । ३५४ जना महिला स्वास्थ्य स्वयमसेवक हरूलाई  उपेक्षित उष्ण प्रदेशीय रोगहरू बारे क्षमता अभिवृद्धि तालिम दिलाएको छ । त्यसैगरी ८ जना स्वास्थ्य कर्मीलाई ल्याब सम्बन्धी तालिम, ७ वटा प्रसूति गृह सुदृढीकरण, दमक अस्पतालमा एनटिडी रेफर सेन्टर स्थापना, १५ जना कुष्ठरोगीलाई उपचार र १ जना हात्तीपाइले बिरामीलाई  रेफरल गरेर उपचारको लागि लालगढ पठाइएको परियोजना अन्तरगत सहारा नेपालका फोकल पर्सन पवनकुमार राईले बताए ।  राईको भनाई अनुसार विभिन्न १५ वटा कार्यक्रमहरूलाई परियोजनाले उपलब्धि ठानेको छ ।

अन्तरक्रियामा विश्वास परियोजना अन्तरगत अपाङ्गताको क्षेत्रमा काम गर्ने साझेदारी संस्था करुणा फाउण्डेसनका अंकित पाठक, सहारा नेपालका कोषाध्यक्ष श्यामकुमार प्रधान, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी र करिव २० जना भन्दा धेरै झापाली पत्रकारहरू सहभागी बनेका थिए ।

पहिलो चरणको लागि ४ वर्ष अवधिभर सञ्चालन हुने परियोजनाको कुल बजेट २२ करोड ६८ लाख माथि रहेको सहारा नेपालका कर्मचारी मात्रिका सुवेदीले आमसंचारलाई बताए । उनको भनाई अनुसार परियोजना थप हुँदै जाने छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 256

प्रतिक्रिया (०)