Aamsanchar

दोस्रो एकता स्पोर्टिङ गोल्डकपको आयव्यय सार्वजनिक, अध्यक्षमा पुन: पौडेल

Author Image
बिहिवार, पौष १२, २०८०

चारपाने । झापाको बिर्तामोड २ चारपानेमा रहेको एकता स्पोर्टिङ क्लवले दोस्रो एकता स्पोर्टिङ गोल्डकप फुटबल प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको छ ।
हालै चारपानेमा सम्पन्न क्लबको वार्षिक साधारणसभामा दाताहरूले दिएको रकमको आम्दानी र खर्च सार्वजनिक गरिएको हो ।

एकता स्पोर्टिङ क्लबको अक्षय कोष स्थापनार्थ गत असोज २५ गते देखि सुरु भएर कार्तिक ३ गते समापन भएको प्रतियोगितामा १७ लाख ४२ हजार ६९४ रुपैयाँ आम्दानी भएको र  प्रतियोगिता सम्पन्न गर्न १० लाख ५३ हजार १३३ रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरिएको छ । अक्षयकोषका लागि ६ लाख ८९ हजार ५६१ रुपैयाँ बचत भएको प्रतिवेदनमा उल्लेख छ ।
क्लबका अध्यक्ष किरण पौडेलको अध्यक्षतामा आयोजित सभामा बिर्तामोड नगरपालिका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको प्रमुख आतिथ्यता रहेको थियो ।

साधारणसभामा  एकता स्पोर्टिङ क्लबलाई सहयोग गर्ने दाताहरूलाई सम्मान गरिएको छ ।

सिम्रिक सहकारी, सुरसिंह विष्ट, दिल्लीराम सिटौला, देवराज रिजाल, केसर खवास, डम्मरबहादुर  देउजालगायत ३० जना भन्दा धेरै दाता तथा सहयोगी व्यक्तिहरूलाई  सम्मान गरिएको अध्यक्ष पौडेलले जानकारी दिए ।

कार्यक्रममा प्रमुख अतिथि संग्रौला, बिर्तामोड २ का वडाध्यक्ष किशोर पौडेल, बिर्तामोड नगर शिक्षा शाखा प्रमुख केसर खवास, दाता समाजसेवी डिल्लीराम सिटौलालगायतले क्लबले गर्दै आएको गतिविधिहरू समाजका लागि उदाहरणीय रहेको र आगामी दिनमा पनि क्लबले अघि सारेको योजनाहरूमा साथ सहयोग रहने प्रतिवद्धता जनाएका छन् ।

सभामा माधव खरेलले स्वागत गरेका थिए । अध्यक्ष किरण पौडेलले प्रगति विवरण तथा आगामी कार्यविधि पेश गरेका थिए भने मोहनप्रसाद कोइरालाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन रमेशकुमार उप्रेतीले गरेका थिए ।

यसै सभाबाट एकता स्पोर्टिङ क्लबको नयाँ कार्यकालको लागि समिति पनि चयन भएको छ ।

डम्बर देउजा संयोजक, भाष्कर लुइँटेल, दिल्लीराम सिटौला सदस्य रहेको निर्वाचन समितिले १५ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो ।

नवगठित समितिको अध्यक्षमा किरण पौडेल नै सर्वसम्मत चयन भएका छन् । त्यसैगरी वरिष्ठ उपाध्यक्ष मोहनप्रसाद कोइराला, उपाध्यक्षमा खेमराज गिर र सूर्यबहादुर लिम्बुलाई चयन गरिएको छ । महासचिवमा रमेशकुमार उप्रेती, सचिव माधव खरेल, कोषाध्यक्ष दिवाकर मैनाली, सहकोषाध्यक्षमा कल्पना पोखरेललाई चयन गरिएको छ । त्यसैगरी कार्यसमिति सदस्यमा मिलन उप्रेती, मदन अधिकारी, राजिव विष्ट, रामकृष्ण दाहाल, सुरसिंह विष्ट, किशन मुर्मु र प्रनेश श्रेष्ठ चयन भएका छन् ।

एकता स्पोर्टिङ क्लबले दुई वर्ष देखि स्थानीय साना बालबालिकाहरूलाई दैनिक रुपमा खेलकुद गतिविधिमा संलग्न गराउँदै आएको छ । बालबालिकालाई खेलकुदमा संलग्न गराउँदा नयाँ खेलाडीको खोजी गर्न सजिलो हुने र बालबालिकाहरू खेल गतिविधिमा सक्रिय रहदा कुलतमा फस्ने सम्भावना पनि कम हुने, समाजले अनुशासित स्वस्थ युवाशक्ति पाउने भएकाले दिगो रुपमा बालबालिकाहरूलाई खेलकुदको क्षेत्रमा आवद्ध गराउन अक्षयकोष स्थापना गरिएको अध्यक्ष पौडेलले आमसंचारलाई बताए ।

अक्षयकोषमा रकम वृद्धि गर्न आगामी वर्षहरूमा पनि जिल्ला स्तरीय खेलकुद प्रतियोगिताहरू आयोजना गर्दै जाने क्लबको लक्ष्य रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
6
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 110

प्रतिक्रिया (०)

सम्बन्धित खबर