दैलेख – ललितपुरको बालकुमारी घटनामा ज्यान गुमाएका दैलेखको महाबु गाउँपालिका–६ रानीवनका सुजन रावतको अन्त्येष्टि गरिएको छ । आज मङ्गलवार श्रीस्थानको आर्यघाटमा सुजनको हिन्दू परम्पराअनुसार अन्त्येष्टि गरिएको हो ।
यसअघि आजै दिउँसो सुजनको शवयात्रा गरिएको थियो । सुजनको शव काठमाण्डौबाट सुर्खेतसम्म हवाईजहाज र सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टरमार्फत दैलेखको कालीदत्त गुल्म पुर्याइएको थियो । गुल्मको गेटदेखि तीन सय मिटर दूरीमा रहेको घरमा पुर्याई सुजनको शवयात्रा शुरु भएको हो । शवयात्रामा आफन्तसहित स्थानीयवासीको सहभागिता थियो ।
गएको शुक्रवार ललितपुरको बालकुमारीमा रहेको ईपीएस कोरिया शाखामा परीक्षा फारम भर्ने विषयमा प्रहरी र आवेदन दिन पुगेकाहरूबीच झडप हुँदा दैलेखका सुजनसहित अछामका वीरेन्द्र शाहको ज्यान गएको थियो । हिजो सोमवार गृह मन्त्रालयमा चार बुँदे सहमतिपछि परिवारजनले शव बुझेका थिए ।