Aamsanchar

हुलाकी राजमार्गको निर्माण अलपत्र परेपछि व्यापारीद्वारा सडक अवरोध

Author Image
बुधवार, पौष १८, २०८०

विराटनगर – लामो समयदेखि अलपत्र अवस्थामा छाडिएको हुलाकी राजमार्गको निर्माणको काम रोकिएपछि कटहरी ४ नयाँ बजारका व्यापारीहरुले सडक अवरोध गरेका छन्।

अलपत्र अवस्थामा छाडिएको सडक धुलाम्मे भएपछि स्थानीयवासीले बुधबार विराटनगर–रंगेली सडकमा चल्ने दुवैतर्फका सवारी साधन रोकेर अवरोध गरेका हुन्।

निर्माणाधीन सडकको खाल्डाखुल्डी र धुलोले गर्दा हैरान खेप्न बाध्य भएपछि सडक अवरोध गरिएको स्थानीय व्यापारी भुवन विश्वकर्माले जानकारी दिए।

यसअघि मोरङको कटहरीका जनप्रतिनिधिले सडक निर्माणमा ढिलाई भएको भन्दै भोक हडतालसमेत गरेका थिए। चार वर्षअघि निर्माण सुरु गरिएको राजमार्गको काम सुस्त हुँदा स्थानीयलाई सास्ती खेप्न बाध्य बनाइएको छ।

पूर्व–पश्चिम राजमार्गको वैकल्पिक सडकका रूपमा हेरिएको हुलाकी राजमार्ग निर्माणका लागि मोरङ खण्डमा ५ वटा निर्माण कम्पनीले काम गरिरहेका थिए।

३ वर्षभित्रमा ४ लेन सडक निर्माण गर्ने सम्झौतासहित २०७६ सालमा ठेक्का सम्झौता भएपनि म्याद थप गरेर २०८० कात्तिकसम्म पुर्‍याइएको थियो तर पनि कामले गति लिन भने सकेको छैन।

रंगेलीको बेतौनादेखि पश्चिम विराटनगरको काम अझै पनि सुस्त गतिमा काम भइरहेको स्थानियको आरोप छ। हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीका राजमार्गको रतुवामाइदेखि रंगेलीको भूमि टोलसम्म १६ किलोमिटर निर्माणको ठेक्का पिएस गजुरमुखी मोतीदाम जेभीले लिएको छ।

बेतौनाबाट कटहरीको नयाँ बजारसम्म १२ किलोमिटर निर्माणको ठेक्का पीएस गजुरमुखी मोतीदाम जेभीले लिएको छ। नयाँ बजारदेखि विराटनगर हाटखोलासम्म ६ किलोमिटरको ठेक्का श्रेष्ठ कन्ट्रक्सनले लिएको छ। हुलाकी राजमार्गले विराटनगर महानगरपालिकासहित मोरङका रतुवामाई नगरपालिका, सुनवर्षी नगरपालिका, रंगेली नगरपालिका, धनपालथान र कहटरी गाउँपालिका क्षेत्रलाई समेटेको छ। ६ वटै पालिकाका सर्वसाधारण हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे सडकका यात्रा गर्न बाध्य भएपछि बेला बेलामा स्थानियले विरोध गर्दै आइरहेका छन्।

यता, सनवर्सी गाँउपालिकाका अध्यक्ष देवराज चौधरीले ठकेदारले इमान्दारीसाथ काम नगर्दिएको र सडकमा पानी नहालेको भन्दै जनता आक्रोशित भएको बताए। उनले अहिले काम गर्दै गरेको ठेकेदार कम्पनी आफ्नो सम्पर्कमा नभएको बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 49

प्रतिक्रिया (०)

सम्बन्धित खबर