Aamsanchar

भद्रपुर नगरपालिकाले सन्थाल समुदायका परिवारलाई २६ वटा घर बनाइदिने

Author Image
बिहिवार, पौष १९, २०८०

झापा – भद्रपुर नगरपालिकाले यो वर्ष सन्थाल समुदायका परिवारलाई २६ वटा घर निर्माण गरिदिने भएको छ। नगर प्रमुख सन्थाल आवास निर्माणअन्तर्गत नगरका १० वटा वडामध्ये पाँचवटा वडाका २६ परिवारलाई नगरपालिकाले घर निर्माण गरिदिन लागेको हो। नगर प्रमुख गणेश पोखरेल, प्रमुख प्रशासकीय अधिकृत सुनील निरौला लगायतले सन्थाल आवासको एक कार्यक्रमका बीच शिलान्यास गरेसँगै निर्माण कार्य सुरु भएको छ।

नगरपालिकाले वडा नम्बर ३ निवासी लाल हस्दा र वडा नम्बर ९ निवासी चुड्कु किस्कुको आवास शिलान्यास गरेका थिए। आफ्नै जमिन हुनुपर्ने, आर्थिक अवस्था कमजोर, छोराछोरी सामुदायिक विद्यालय पढाउनु पर्ने लगायतको नीति बनाएर नगरपालिकाले वडा नम्बर ३, ५, ९ र १० मा ५ वटाको दरले २० वटा घर र वडा नम्बर ७ मा ६ वटा गरी जम्मा २६ वटा घर निर्माण गरिने नगरका इन्जिनियर योगेन्द्र रञ्जितकारले जानकारी दिए।

भ्याटसहित एक करोड २७ लाख २२ हजार ९१३ रुपैयाँमा लागतमा निर्माण हुने घरको ठेक्का स्नेहा निर्माण सेवा भद्रपुरले लिएको छ। ३८४ दशमलव १३ वर्ग फिटमा टिनको छाना भएको घरमा भान्सा, बरन्डासहित ३ वटा कोठा निर्माण गरिने छ। एउटा घर निर्माण गर्न ४ लाख ८९ हजार ३४२ रुपैयाँ खर्च हुने इन्जिनियर रञ्जितकारले बताए।

 

२०८१ वैशाख मसान्तसम्म सम्पन्न गर्ने गरी चालू वर्षको मंसिर २७ गते निर्माण कम्पनीसँग सम्झौता भएको उनको भनाइ छ। लोप हुँदै गएको सन्थाल जातिलाई विस्थापित हुन नदिन यो योजना सुरु गरिएको नगर प्रमुख गणेश पोखरेलले बताए। अन्य समुदाय कमजोर रहे पनि समग्रमा सन्थाल समुदाय बढी कमजोर देखिएकोले यो समुदायबाट नै आवास निर्माण सुरु गरिएको नगर प्रमुख पोखरेलले बताए। नगरभित्र नागरिकता पाएका सन्थाल समुदायको ६ सय ३ घर रहेको छ।

शिक्षा, स्वास्थ्य र रोजगारीमा पहुँच नपुगेको हुँदा नगरले सन्थाल समुदायलाई निःशुल्क स्वास्थ्य बिमा पनि गरिदिएको उनले बताए। गत वर्ष नगरले वडा नम्बर ३ मा मात्र १८ वटा सन्थाल आवास निर्माणको काम अघि बढाएको थियो। तर, त्यो योजना अझै पूरा भएको छ। त्यसैले यस वर्ष निर्माण गर्न लागिएको आवास तोकिएकै समय अवधि भित्र सम्पन्न गरी हस्तान्तरण गरिदिन नगर प्रमुख पोखरेलले निर्माण व्यवसायीलाई आग्रह समेत गरेका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 37

प्रतिक्रिया (०)

सम्बन्धित खबर