

काठमाण्डौ – चितवन राष्ट्रिय निकुञ्जमा रहेको ध्रुवे हात्तीले बस्तीमा पसेर चार वटा घर भत्काएको छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार यो हात्तीले भरतपुर महानगरपालिका–२३ वयरघारी क्षेत्रमा चार वटा घर भत्काएको हो ।

अस्ति बेलुका माडी क्षेत्रमा देखिएको ध्रुवे हात्ती हिजो वयरघारी क्षेत्रमा आइपुगेको थियो । अरु हात्ती शान्त भए पनि ध्रुवे हात्ती उग्र बनेको तिवारीले बताउनुभयो । हात्तीलाई डाट गरेर रेडियोकलर जडान गरिएको छ । रेडियोकलरबाट नियमन गरिएको भए पनि बस्तीमा पस्न भने नछाडेको उहाँले बताउनुभयो ।

हात्ती बस्ती पसेको जानकारी पाएसँगै निकुञ्जका कर्मचारी, नेपाली सेना, समुदायमा आधारित संस्थामार्फत जानकारी गराउने गरिएको छ । हात्तीलाई बस्ती पस्न नदिनका लागि स्रोत, साधनले सकेसम्म उच्चस्तरको प्रविधि प्रयोग गरिएको भए पनि रोक्न नसकिएको निकुञ्जका सूचना अधिकारी तिवारीले बताउनुभयो ।

हात्ती बस्तीमा पस्न थालेपछि निकुञ्जले निकुञ्ज आसपास बसोबास गर्नेलाई सतर्कता अपनाउन अनुरोध गरेको छ।