Aamsanchar

दुर्गाप्रसादकाे उपचार खर्च अस्पतालले गर्याे मिनाहा

Author Image
शनिवार, पौष २१, २०८०

इलाम – उपचारको रकम तिर्न नसक्दा अस्पतालमै बस्नुभएका माई नगरपालिका–१० लुम्बाकका ६४ वर्षीय दुर्गाप्रसाद शर्मा तिम्सिना घर फर्किनुभएको छ ।

विना सुनुवाइ भारतीय जेलमा चार दशक बिताएपछि २०७७ सालमा घर फर्काइएका उहाँलाई गएको वर्ष परिवारले चितवनको खैरहनी नगरपालिका–११ मा रहेको ब्युटिफुल माइन्ड इन्स्टिच्युट अफ साइक्याट्रीमा उपचारका लागि भर्ना गराएका थिए । छ महिनाअघि नै उहाँको स्वास्थ्यमा सुधार आएको चिकित्सकले बताए पनि अस्पतालको बिल तिर्न नसक्दा बन्धकझैँ भएर अस्पतालमै बस्नु परेको थियो ।

परिवारको कमजोर आर्थिक अवस्था बुझेर चितवनको ब्युटिफुल माइन्ड इन्स्टिच्युट अफ साइक्याट्रिनले उपचारमा भएको खर्च नलिइ घर पठाएको छ । दुर्गाप्रसाद एक वर्ष नौ महिना सात दिन अस्पतालमा रहनुभएको अस्पतालले जनाएको छ । उहाँ निको भएको छ महिना भइसके पनि अस्पतालमा तिर्नुपर्ने करिब चार लाख १५ हजार रुपैयाँ नहुँदा घर जान पाइएको थिएन ।

विभिन्न सञ्चारमाध्यममा उपचार खर्च अभावले अस्पतालमै बस्न बाध्य दुर्गाप्रसाद शीर्षकमा समाचार आएपछि अस्पतालले उहाँले बुझाउन बाँकी रकम नलिइ घर पठाएको अस्पतालका अध्यक्ष डा गिरिराज भन्तानाले बताउनुभयो । उहाँले दुर्गाप्रसादको स्वास्थ्यमा सुधार आइसकेको बताउनुभयो ।

´दुर्गाप्रसादमा देखिएको रोग सिजिफ्रेनिया होु, डा भन्तानाले भन्नुभयो, `शत्प्रतिशत निको भएको त होइन तर उहाँमा जति सुधार हुनुपर्ने हो, त्यति भइसकेको छ ।` उहाँले दुर्गाप्रसाद अब पहिलाभन्दा सामान्य जीवन बिताउनसक्ने र अरूले भनेको काम गर्नसक्ने भएको बताउनुभयो ।

ुछ महिनाअघि नै ठूलोबुबालाई घर लैजाँदा हुन्छ भनेर चिकित्सकले सल्लाह दिए पनि आर्थिक अभावले अस्पतालमै राख्नुपरेको थियोु, दुर्गाप्रसादका भतिजा गोपाल तिम्सिनाले भन्नुभयो, ´अस्पताललाई बुझाउने पैसा नभएपछि करिब छ महिनादेखि अस्पतालमा बन्धकझैँ बन्नुभएको थियो, अस्पतालको छुटले राहत पायौँ ।`

दुर्गाप्रसादलाई २०७७ चैतमा भारतको कोलकाता जेलबाट छुटाएर घर ल्याइएको थियो । दुर्गाप्रसाद २०३७ साल माघमा बेपत्ता हुनुभएको थियो । घर छाडेकै वर्ष भारत दार्जिलिङमा एक महिलाको हत्या आरोपमा जेल पर्नुभएका उहाँ २०७७ फागुनमा भारतकै कोलकातामा रहेको दमदम कारागारमा फेला पर्नुभयो । विभिन्न सङ्घ–संस्थाको पहलमा उहाँलाई २०७७ चैत ८ मा आफ्नी वृद्धा आमासहितको परिवार रहेको लुम्बाकमा रहेको घरमा ल्याइएको थियो ।

जिल्ला प्रशासन कार्यालय इलामले दुर्गाप्रसादलाई घर आएपछि नागरिकता प्रदान गरेको थियो । कोशी प्रदेश सरकारले उहाँको केही उपचार निःशुल्क गरिदिएको थियो । उहाँको घर रहेको माई नगरपालिकाले आर्थिक अवस्था कमजोर रहेका दुर्गाप्रसादको जीवन सहज बनाउन ५० हजार रुपैयाँ प्रदान गरेको थियो ।

उपचारपछि घर आउनुभएका दुर्गाप्रसादमा पुनः सामाजिकीकरणको समस्या दोहोरिएको थियो । लामो समय जेलमा रहेको र यातना पाएका कारण मानसिकरूपमा विक्षिप्त बन्नुभएका दुर्गाप्रसादको व्यवहार निकै असहज भएपछि उहाँलाई उपचारमा लगिएको स्थानीय रोहित आचार्यले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 88

प्रतिक्रिया (०)

सम्बन्धित खबर