Aamsanchar

गाईघाट–फतेपुर सडकको काम अलपत्र

Author Image
आइतवार, पौष २२, २०८०

उदयपुर – बजेट अभावमा निर्माणाधीन गाईघाट–फतेपुर सडकको काम अलपत्र परेको छ। छिमेकी जिल्ला सप्तरी र उदयपुरकै पुर्वी क्षेत्रलाई सदरमुकामसँग जोड्ने जिल्लाकै सबैभन्दा पुरानो यो सडक बजेट अभावमा बीचैमा अलपत्र परेको हो।

दुई लेन बनाएर कालोपत्रे गर्ने गरी अघिल्लो वर्ष सुरु गरिएको उक्त सडक निर्माण चरणमा नै अलपत्र परेको हो। त्रियुगा नगरपालिका वडा नम्बर १,२,३ र १२ तथा चौदण्डिगढी नगरपालिकाको वडा नम्बर ९, १० र ५ को सुन्दरपुर हुँदै सप्तरीको फत्तेपुर जोड्ने ३० किलोमिटर लामो यो सडक सरकारको प्राथामिकतामा नपर्दा जीर्ण छ।

सदरमुकाम हुँदै मोतिगढा–जोगिदह रुपनिसम्मको करिब १२ किलोमिटर चालु आर्थिक वर्षमा काम सम्पन्न गर्नेगरी निर्माणको काम अगाडि बढाइएकोमा बजेट अभावले काम ठप्प भएको डिभिजन सडक कार्यालय लहानका प्रमुख रमेश चौधरीले बताए।

 

सरकारको निर्वाचन क्षेत्र रणनैतिक सडक योजना अनुसार संघीय संसदको एउटा निर्वाचन क्षेत्रमा कम्तिमा २५ र बढीमा ४० करोड रुपैयाँसम्मको लागतमा सडक निर्माण गर्ने कार्यक्रम अनुसार क्षेत्र नम्बर १ मा उक्त सडकको स्तरोन्नति गर्न सुरु गरिएको उनले बताए।

सडकको स्तरोन्नतीसँगै चौडाइ र दायाँबायाँ नाली निर्माणसहित पाँचवटा ठूला तथा १७ वटा साना गरी २२ वटा कल्भर्ट बनाइने उनले बताए। डिई चौधरीले भने, ‘सबै कल्भर्ट निर्माण सम्पन्न भइसकेको, धेरै ठाउँमा नाला र स्ट्रक्चरका कामसमेत सम्पन्न भइसकेको छ बाँकी कालोपत्रेका लागि सबबेस लगाउनु पर्ने समयमा बजेट नआउँदा काम रोकियो।`

२८ करोड ४३ लाख ४६ हजार लागतमा सुरु भएको योजनामा सरकारले एक करोड मात्र रकम उपलब्ध गराएको उनले बताए। चौधरीले थपे, ‘जति बजेट आयो त्यो अनुसारको काम सकियो थप बजेट सुनिश्चित नभएकोले काम रोकिएको छ। अर्थ मन्त्रालयबाट तत्काल योजनालाई रकम दिन नसकिने ब्यहोराको पत्र आयो। परिपत्र नै भएपछि युद्धस्तरमा बढेको काम बीचैमा रोकिएको हो।`

उच्च गुणस्तरको दुईलेनको अस्पाल कंक्रिटको कालोपत्रे गरिने उक्त सडकको निर्माणको जिम्मा मैजनाचुली साह रेग्मी ज्वायन्ट भेञ्चर निर्माण कम्पनीले लिएको छ। निर्माण व्यवसायी मनिकुमार दाहाल खत्रीले कुनै बाधा व्यवधान नआएमा निर्धारित समयभन्दा अगाडि नै काम सम्पन्न हुने बताए।

स्ट्रक्चर निर्माणको काम सकेर धमाधम माटो फिलिङको कामसमेत सुरु भएको अवस्थामा सडक कार्यालयले रकम दिन नसक्ने बताएपछि निर्माणको गतिलाई रोक्नु परेको उनले बताए। निर्माण कार्य रोकिएसँगै रेखदेख नहुँदा बनेका सडक नाली तथा अन्य संरचनासमेत टुटफुट हुने, पुरिने खतरा बढेको उनले बताए। खत्रीले भने, ‘निर्माण सम्पन्न भएका स्ट्रक्चर संरक्षण हुन नसक्ने भएकोले अर्को वर्ष गर्दा थप व्यवहार बढ्नसक्ने अवस्था सिर्जना भएको छ।`

सडक निर्माणसँगै उक्त क्षेत्रमा रहेका लुहाले, वविया, कंग र बाहुन्ना खोलामा पक्की पुल निर्माण आवश्यक रहेको चौदण्डिगढी नगरपालिकाका मेयर कालुमान लामाले बताए। तर पक्की पुलका लागि नेपाल सरकारले कुनै योजना बनाएको छैन। उक्त सडक निर्माणाधीन सगरमाथा विमानस्थल जानसमेत प्रयोग हुन्छ।

सडक निर्माणको काम ठप्प भएसँगै सदरमुकासम्म सरकारी कामकाजमा आउने सेवाग्राही, गर्भवती महिला, सुत्केरी र अन्य आकस्मिक उपचारका लागि अस्पतालमा लैजानु पर्ने बिरामी मर्कामा परेका छन्। बिरामी बोकेका एम्बुलेन्स, सुरक्षा निकायका सवारी साधनहरूले समेत सास्ती व्यहोर्नु परेको छ।
१५ वर्षअघि जिल्ला विकास समितिले गरेको सिल भत्काएर नयाँ माटो थुपारिएको सडकमा गुढेका सवारी साधनकाकारण उडेको धुलोले आसपासका बस्तीलाई समेत असर पुगेको त्रियुगा नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष घमानसिंह खत्रीले बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 78

प्रतिक्रिया (०)

सम्बन्धित खबर