Aamsanchar

माेरङमा मापसे चेकजाँचमा प्रहरीको सक्रियता

Author Image
आइतवार, पौष २२, २०८०

विराटनगर – मोरङमा सवारी दुर्घटना न्यूनीकरणका लागि मापसे (मादक पदार्थ सेवन)चेकजाँचलाई तीव्र पारिएको छ।

मापसेका कारण दुर्घटना बढ्न थालेको निष्कर्ष निकाल्दै आइतबारदेखि ट्राफिक प्रहरीको सक्रियता बढाएर चेकजाँचमा कडाइ गर्न थालिएको हो। ट्राफिकले मापसे जाँचलाई व्यापक बनाएको छ। ट्राफिकले दिउँसोको समयमा पनि मापसे चेकजाँच गर्न थालेको हो। चेकजाँच र निगरानीले नै दुर्घटनाको दर पनि कम हुने ट्राफिक प्रहरीको विश्लेषण छ।

मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक (इन्सपेक्टर) सुमन न्यौपानेका अनुसार मापसे गरेर सवारी चलाउने प्रवृत्ति बढ्दै गएको जनगुनासो धेरै आउन थालेसँगै कडाइ गर्न थालिएको हो। मापसे गरेर सवारी चलाउने क्रम रोक्न र चालकलाई कारबाहीको दायरामा ल्याउन कोशी प्रदेशको राजधानी विराटनगरसहित मोरङभर ‘सवारी चेकजाँच विशेष अभियान’ सुरु गरिएको जानकारी उनले दिए।

ट्राफिक प्रहरीले दैनिक साँझ र रातको समयमा मात्रै मापसे चेकजाँच गर्ने गरेको थियो। पछिल्लो समय मापसे गरेर चलाइएका सवारीसाधनले दिनदहाडै दुर्घटना गराउने क्रम बढेपछि चेकजाँचलाई तीव्र पारिएको न्यौपानेले बताए। ‘यसअघि साँझको समयमा मात्रै मापसे चेकजाँच गर्ने गरिएको थियो। तर, दिउँसोसमेत मापसे गरेर सवारी चलाउने गरेको जनगुनासो धेरै आयो,’ उनले भने, ‘कतिपय दुर्घटना मापसेकै कारण भएका छन्। अबदेखि दिउँसोको समयमा पनि मापसे चेकजाँच गर्न थालिएको छ।’

सवारीसधानका चालकको मापसे चेकजाँचका लागि इन्सपेक्टर न्यौपाने आफैं फिल्डमा खटिन थालेका छन्। मापसे चेकजाँचलाई लक्षित गरेर ट्राफिक प्रहरीका नायव निरीक्षक (सइ) सुन्दरश्याम पोखरेलको नेतृत्वमा अलग्गै टोली पनि परिचालन गरिएको छ। सवारीसाधनमाथि निगरानी बढाउने, सवारीको अवस्था र कगजात चेकजाँच गर्ने, शंकास्पद सवारीसाधन नियन्त्रणमा लिने तथा मापसे गरेका चालकलाई कारबाही गर्ने गरी विशेष टोली खटाइएको न्यौपानेले बताए।

ट्राफिक प्रहरीले आइतबार दिउँसो विराटनगरको तीनपैनी, ट्राफिक चोकलगायतका केही स्थानमा मापसे चेकजाँच गरेको थियो। चेकजाँचलाई एम्बुलेन्स, सीटी सफारी, अटो टेम्पो, विद्यालयका सवारी, ट्याक्टर तथा फोहोर बोक्ने गाडीलगायतका सवारीसाधन लक्षित गरिएको जानकारी इन्सपेक्टर न्यौपानेले दिए। उनका अनुसार चेकजाँचका क्रममा दिउँसै मापसे गरेर सवारी चलाउने गरिएको फेला परेको छ।

चालकले मापसे गरेर चलाएका सवारीसाधन नियन्त्रणमा लिएर कारबाही गरिएको उनले बताए। न्यौपानेका अनुसार नम्बर प्लेट मेटिएर स्पष्ट नभएका सवारीसाधनलाई चेकजाँचस्थलमै नम्बर प्लेटसमेत लेखाउन थालिएको छ। केही समयअघिदेखि ट्राफिकले नम्बर प्लेट लेखाउन थालेको हो। हालसम्म नम्बर नबुझिने र स्पष्ट नभएका ५ सय वटाजति सवारीसाधनको नम्बर प्लेट लेखाई सकिएको उनले बताए।

उनका अनुसार नम्बर प्लेट स्पष्ट नहुँदा दुर्घटना गराएर भागेका सवारीसाधनको पहिचान गर्न मुस्किल पर्ने गरेको थियो। नम्बर प्लेट स्पष्ट हुँदा दुर्घटना गराएर भाग्न नपाउने न्यौपानेले बताए। साथै, दुर्घटना न्यूनीकरण र ट्राफिक नियमको पालनाका लागि विभिन्न जनचेतनामूलक कार्यक्रमलाई पनि तीव्र पारिएको इन्सपेक्टर न्यौपाने बताउँछन्।

चालु आर्थिक वर्षको हालसम्म मोरङमा ५ सय ६१ वटा सवारी दुर्घटना भएका छन्। दुर्घटनामा परेर ५२ जनाको मृत्यु र ८ सय ७६ जना घाइते भएको ट्राफिक प्रहरीले जनाएको छ। ट्राफिकका अनुसार लगभग २० प्रतिशतजति दुर्घटना मापसेका कारण भएको हो। चालु आबको साउनयता मापसे गरेर चलाइएका ६ सय ५ वटा सवारीसाधन कारबाहीमा परेका छन्।

कोशी प्रदेशका ट्राफिक प्रहरी प्रमुख एसपी सरोज पौडेलले सवारीसाधन अनियन्त्रित भएर दुर्घटना हुनुको मुख्य कारण नै मापसे रहेको बताए। उनका अनुसार पुराना र बिग्रिएका ‘ब्रेथ लाइजर मेसिन’लाई मर्मत सम्भार गरेर मापसे चेकजाँचलाई प्रदेशभरि नै व्यापक बनाइएको छ। ‘आफैं अनियन्त्रित भएर सवारी दुर्घटना हुनुको कारण मापसे नै रहेको पाइयो। त्यही भएकाले अहिले प्रदेशका १४ वटै जिल्लामा चेकजाँच तीव्र बनाइएको छ,’ उनले भने, ‘मापसे गरेर सवारी चलाउने चालकलाई कारबाही गरिएको छ। ट्राफिक सक्रियता बढाउनुको एउटै उद्देश्य दुर्घटनाबाट हुने मानवीय तथा भौतिक कम गर्ने नै हो।’

एसपी पौडेलले मापसेविरुद्ध शून्य सहनशीलताको नीति लिइएको प्रष्ट पारे। मापसे र ट्राफिक नियमको उल्लंघन गरेर सवारी चलाउने जोकोहीलाई कारबाहीको दायरामा ल्याउने गरिएको उनको भनाइ छ। ‘ब्रेथ लाइजर’ नहुँदा सुँघेर मापसे जाँच गर्नुपर्ने बाध्यतासमेत थियो।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 116

प्रतिक्रिया (०)

सम्बन्धित खबर