Aamsanchar

९२ हजार तीर्थयात्री गरे पाथीभरा माताकाे दर्शन

Author Image
सोमवार, माघ १, २०८०

ताप्लेजुङ – १० किलोमिटर पैदल यात्रा गर्नुपर्ने पाथीभरामा छ महिनामा ९२ हजार तीर्थयात्री पुगेका छन् । पाथीभरा क्षेत्र विकास समितिका अनुसार साउनदेखि पुस मसान्तसम्म ९१ हजार ७ सय तीर्थयात्री मन्दिर पुगेका हुन् ।
पाथीभरा मन्दिर ३ हजार ७ सय ९४ मिटर उचाइमा छ । यहाँ काफ्लेपाटीदेखि ५ किलोमिटर उकालो पैदल यात्रा गर्नुपर्छ । फर्कँदा पनि त्यत्तिनै दुरी पार गर्नुपर्छ । काफ्लेपाटीसम्म भने गाडीमा जान सकिन्छ । सदरमुकाम फुङलिङदेखि २० किलोमिटर दुरीमा काफ्ले पाटी छ । सुकेटारसम्म कालोपत्रे सडक छ भने त्यहाँबाट १२ किलोमिटर कच्ची सडक छ ।

साउनदेखि पुस भित्रमा सबैभन्दा बढी कार्तिक महिनामा ४९ हजार १ सय ६३ र सबैभन्दा कम साउनमा १ हजार १ सय २२ जना दर्शनार्थी आएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले जनाएका छन् ।

विगतमा साउनमा मान्छेको संख्या शून्य हुने गरेको थियो । पाथीभरामा शिवलिङ्ग राखेपछि साउनमा पनि तीर्थयात्रीको संख्या बढेको पाथीभराका पुजारीहरू बताउँछन् । समितिको दाबीअनुसार मंसिरमा २० हजार १ सय ४६, असोजमा १० हजार ३ सय ४३, पुसमा ५ हजार ६ सय ५५ र भदौमा ५ हजार तीर्थयात्रीले दर्शन गरेका थिए ।

 

क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेवेका अनुसार व्यक्तिको गणना हुने फेस काउन्टिङ सीसी क्यामरा राखिएको छ । फागुनदेखि वैशाखसम्ममा यो संख्या दोब्बर तीर्थयात्री हुने अपेक्षा गरिएको थेवे बताउँछन् । शैक्षिक सत्र सुरु हुँदा बालबालिका लिएर आउने तीर्थयात्रीको संख्या अधिक हुने गरेको छ । चैत(वैशाखमा गुराँस फूल्ने भएकाले धेरैको रोजाइमा यो सिजन पर्ने गरेको छ । हिँड्न नसक्नेका लागि पैसा तिरेर बोक्ने जनशक्ति पाइन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 105

प्रतिक्रिया (०)

सम्बन्धित खबर