Aamsanchar

बन्द बोतलभित्र राखिएको पानीमा प्लास्टिकका लाखौँ कण हुने : अध्ययन

Author Image
बुधवार, माघ ३, २०८०

काठमाण्डौ – बन्द बोतलभित्र राखिएको पानीमा प्लास्टिकका लाखौँ कण हुने एक अध्ययनले पुष्टि गरेको छ । अमेरिकाको कोलम्बिया विश्वविद्यालय र रटगर्स विश्वविद्यालयका वैज्ञानिकहरूले गरेको अध्ययनमा एक लिटर पानीमा औसत २ लाख ४० हजार प्लास्टिकका कण भेटिएको हो ।

तीन ठूला उद्योगबाट उत्पादित बोतलको पानीमा गरिएको अध्ययनका क्रममा प्रतिलिटर १ लाख १० हजारदेखि ३ लाख ७० हजारसम्म प्लास्टिकका कण भेटिएका छन् । तर वैज्ञानिकहरूले ती उद्योगको नाम भने उल्लेख गरेका छैनन् । यसमध्ये ९० प्रतिशत बोतलको पानीमा नानो प्लास्टिकका कण र बाँकीमा माइक्रोप्लास्टिकका कण भेटिएका छन् ।

बजारमा सहजै किन्न पाइने बोतलको पानीमा भेटिएका नानो प्लास्टिकका कणहरू फोक्सो र पाचन प्राणालीमार्फत रगतमा मिसिएर मस्तिष्क तथा मुटुसम्म पुग्ने र सबै अङ्गलाई प्रभावित पार्ने वैज्ञानिकहरूले बताएका छन् ।

गर्भावस्थामा विकसित हुने अङ्ग ‘प्लेसेन्टा’ मार्फत यस्ता प्लास्टिकका कण बच्चाको शरीरमा पुग्ने हुँदा शिशुलाई समेत गम्भीर असर पुग्ने अध्ययनमा उल्लेख छ । अध्ययनअनुसार धारा, नल तथा पाइपको पानीभन्दा बोतलभित्रको पानीमा प्लास्टिकको कण धेरै हुने गर्छ ।

वैज्ञानिकहरूले प्लास्टिकको बोतलमा प्याक गरिने पानीमा पहिलेको तुलनामा धेरै गुणा बढी प्लास्टिकको कण फेला परेको र यो विश्वका लागि चिन्ताको विषय भएको बताएका छन् ।

संयुक्त राष्ट्र सङ्घका अनुसार मानिसले हरेक वर्ष ४४ करोड टनभन्दा बढी प्लास्टिक उत्पादन गर्छ । झन्डै ८० प्रतिशत प्लास्टिक ल्यान्डफिल या वातावरणमा पुग्ने गरेको वैज्ञानिकहरूले बताएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 73

प्रतिक्रिया (०)

सम्बन्धित खबर