Aamsanchar

नक्कली मदिरा बनाई बिक्री गर्ने समूह पक्राउ

Author Image
बुधवार, माघ ३, २०८०

काठमाडौं –विभिन्न ब्रान्डका नक्कली मदिरा बनाई बिक्री गर्ने समूहलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ ।

काठमाडौंमा स्वदेशी र विदेशी ब्रान्डका नक्कली मदिरा बनाई बिक्री भइरहेको सूचनामा आधारमा काठमाडौं थलीस्थित एक घरमा छापा मार्दा प्रहरीले विभिन्न ब्रान्डका नक्कली मदिरासहित ९ जनालाई पक्राउ गरेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार पत्रकार सम्मेलन गर्दै पक्राउ परेका व्यक्तिहरूलाई सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा रामेछापका मनोज खत्री, विनोदकुमार कार्की, मोहन खड्का, गौरव तामाङ, मोहन खड्का, रोशन कार्की, महेश खत्री, मनिष खत्री र सुमन नगरकोटी रहेका छन् । पक्राउ परेकामध्ये अधिकांश यसअघि पनि नक्कली मदिरा बनाएको अभियोगमा पक्राउ परेको देखिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपी अनिल घिमिरेले जानकारी दिए ।

उनीहरूबाट खुकुरी रम, गोल्डन ओक, फाइटर, सिग्नेचर, ३६५ ब्ल्याक, सगुन ब्राण्डको मदिरा, मिश्रित तरल पदार्थ, विभिन्न रक्सीहरूको खाली बोतल, आन्तरिक राजस्व विभागको अन्त शुल्कको स्टिकरहरू, लेवलिङ र प्याकेजिङ गर्न प्रयोग गरिने सामानहरू बरामद भएको घिमिरेले बताए ।

उनीहरूले चिनी र पानी मिलाएर पकाउने त्यसपछि अल्कोहल मिसाएर बजारमा प्रचलित दरभाउभन्दा कम मूल्यमा नक्कली मदिरा बिक्री गर्ने खुलेको प्रहरीले जनाएको छ ।

त्यस्तै, प्रहरीले बजार पठाउन तयारी अवस्थामा राखिएका विभिन्न ब्रान्डका मदिराहरू समेत बरामद गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 74

प्रतिक्रिया (०)

सम्बन्धित खबर