![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
विराटनगर – मोरङका अलगअलग स्थानमा आगलागी हुँदा ९ लाख बराबरको क्षति भएको छ। विराटनगर र बेलबारीमा बिहीबार बिहान आगलागी भएको हो।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार विराटनगर महानगरपालिका–९ स्थित चुलाचुली मार्ग बस्ने सुरेशकुमार साहको जेनेरेटर राखिएको घरमा आगलागी भएको छ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
जेनेरेटर राख्नका लागि इँटा र कर्कटपाताको प्रयोग गरेर बनाइएको घरमा बिहान ५ बजेतिर आगलागी भएको उनले बताए। आगलागीमा घरसहित जेनेरेटर जलेर ध्वस्त भएको प्रहरीले जनाएको छ। विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ। प्रहरीका अनुसार आगलागीमा ८ लाख बराबरको क्षति भएको छ। आगो नेपाल प्रहरी, स्थानीय र दमकलको सहायतामा लगभग १ घण्टापछि नियन्त्रणमा लिइएको थियो।
बेलबारी नगरपालिका–१ भानुमार्ग बस्ने सावित्रीदेवी श्रेष्ठको भान्सा घरमा आगलागी हुँदा १ लाख बराबरको क्षति भएको छ। प्रहरीका अनुसार कर्कटपातको छानो र बेरा लगाएर बनाइएको घरमा बिहानका राति १ बजेतिर आगलागी भएको हो।
चुल्होबाट अचानक आगो सल्किँदा भान्सा घर, कोठामा रहेका अन्नपात, काठपात, भान्साका सामग्री जलेर ध्वस्त भएको प्रहरीको भनाइ छ। आगो प्रहरी, स्थानीय र दमकलको सहयोगमा डेढ घण्टापछि नियन्त्रणमा लिइएको थियो।