Aamsanchar

चारआलीमा सांस्कृतिक महोत्सव आयोजना हुने 

Author Image
बिहिवार, माघ ४, २०८०

चारआली । झापाको मेचीनगर नगरपालिका १३ स्थित चारआलीमा ‘चारआली सांस्कृतिक महोत्सव २०८०’ आयोजना हुने भएको छ ।
सोनाम, तमु र ग्याल्वो लोसार पर्वलाई एकीकृत रुपमा मनाई जातीय एकता र आत्मियताको सन्देश दिने उद्देश्यले आगामी माघ ११ गते देखि २४ गते सम्म सांस्कृतिक महोत्सव आयोजना गर्न लागिएको
आज चारआलीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा आयोजक समितिका अध्यक्ष फुर्वा लामाले जानकारी दिए । 

टासी फुन छोग् छोई खोरलिङ्ग गुब्वा चारआली  मुख्य आयोजक र चारआली जेसीज सहआयोजक बनेर महोत्सवको तयारी गरिएको हो ।
गुम्बाको स्तर उन्नति र जेसीज भवन निर्माण गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको विषेश प्रस्तुति रहने आयोजक समितिका सचिव सोनामसिंह तामाङले बताएका छन् ।

महोत्सव अवधिभरमा गायक गायिकाहरू सविन राई, जोन चामलिङ, एलिना चौहान, राजेश पायल राई, अपूर्व तामाङ,  सुजन चापागाईँ, ज्योति मगर, अनमोल गुरुङ, प्रकाश सपूत, सारेगम लिटल च्याम्प जेसिन डोमा लामाले गीत प्रस्तुत गर्ने भएका छन त्यसैगरी इलिमेन्ट ब्याण्डको पनि प्रस्तुति रहने सहआयोजक संस्था चारआली जेसीजका अध्यक्ष भोजराज पराजुलीले जानकारी दिए ।
माघ २७ गते सोनाम लोसार परेकोले उक्त पर्वको अवसरमा माघ २० गते जातीय परम्परागत वस्तु र परिकारहरूको प्रर्दशनी तथा बिक्रीका लागि चारआली इलाम रोडमा रोड फेस्टिभल पनि आयोजना हुने बताइएको छ । उक्त दिन शेर्पा, तामाङ, मगर, गुरुङलगायत जातजातिको विशेष सहभागिता सँगै मौलिक पहिचान झल्कने भेषभूषा र कला संस्कृतिको उजागर गरिने सल्लाहकार पासाङ सेर्पाले आमसंचारलाई बताए ।

चारआलीमा राष्ट्रिय कलाकारको उपस्थितमा विगत १२ वर्ष पछि महोत्सव आयोजना हुने भएकोले यस महोत्सवमा स्थानीयवासीको बाक्लो उपस्थिति रहने आयोजक समितिले अपेक्षा गरेको छ । महोत्सव अवधीमा ३० हजार भन्दा धेरैले महोत्सव अवलोकन गर्ने समितिले अनुमान गरेको छ ।

महोत्सव आयोजनाको लागि विभिन्न निकाय तथा संस्थाहरूले आर्थिक सहयोग गर्ने भएका छन् । महोत्सव सम्पन्न गर्न ३० देखि ३५ लाख खर्च हुने अनुमान समितिले गरेको छ । महोत्सवलाई सव्य र भव्य बनाउन १०५ सदस्यीय मूल आयोजक समिति बनाइएको छ । त्यसैगरी विभिन्न जिम्मेवारी  बाँडफाँडका लागि ५ वटा उपसमिति गठन गरिएको अध्यक्ष लामाले बताए ।

पत्रकार भेटघाट कार्यक्रममा आयोजक समितिका सदस्यहरू नर्वु शेर्पा, हरि लामा, निमा तामाङ लगायतको उपस्थिति रहेको थियो ।    

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 46

प्रतिक्रिया (०)

सम्बन्धित खबर