Aamsanchar

भुँई मान्छेले लोकतन्त्रको अनुभूति गर्न नपाएको बिर्तामोडमा गुनासो

Author Image
आइतवार, माघ ७, २०८०

बिर्तामोड । झापाको बिर्तामोडमा आज आयोजित एक कार्यक्रमका सहभागीहरुले भुँई मान्छेले लोकतन्त्रको अनुभूति गर्न नपाएको बताएका छन् ।
नारी सञ्चार गृह झापाको आयोजनामा आइतबार बिर्तामोडस्थित जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषको सभाहलमा सम्पन्न नागरिक आन्दोलन र लैङ्गीकता विषयक अन्तरक्रियामा सहभागीहरुले आ–आफ्नो धारणा राख्ने क्रममा परिवर्तनका लागि भएका आन्दोलनले सफलता पाएपनि आन्दोलनबाट प्राप्त उपलब्धीले साधारण नागरिकलाई छुन नसकेको बताए ।

नागरिक आन्दोलनका अभियान्ता डा। सञ्जीव उप्रेती र अर्चना थापा मुख्य वक्ताको रुपमा रहेको कार्यक्रममा संघीयताको मर्म अनुसारको काम हुन नसकेको बताउँदै डा। उप्रेतीले अहिले पनि न्याय माग्नका लागि काठमाडौं नै धाउनुपर्ने, धर्ना, अनसन नै बस्नुपर्ने अवस्था आउनु दुःखद भएको बताए ।

लोकतन्त्र नाटक जस्तो देखिएको बताए । उनले भने–‘संघीयता, समावेशी लगायतका विषयवस्तु राम्रा भएपनि परिकल्पना अनुसार कार्यान्वयन नहुँदा लोकतन्त्र नाटक जस्तै भयो ।’
लोकतन्त्र र संघीयताको मर्म अनुसार भुँई मान्छेको आवाज सुनिन छोडेको बताउँदै नागरिकले न्याय पाउनका लागि वकिललाई न्यायालयमा सेटिङ छ कि छैन भन्ने सोधेर मात्रै मुद्दा दिने दिन आएको बताए ।
लोकतन्त्रमा फरक मतको पनि कदर हुनुपर्नेमा जोड दिएका उप्रेतीले नागरिक आन्दोलन बिचार परिवर्तन गर्ने प्रयास भएको स्पष्ट पारे । सामाजिक संरचना जस्तै नागरिक आन्दोलन पनि रहेको स्पष्ट पार्दै संरचनागत लाभांश लिएर जीवनलाई सहज बनाउने गलत मिथकलाई तोड्नुपर्नेमा उप्रेतीको जोड थियो ।

कार्यक्रममा बोल्दै उप्रेतीले विगतमा नागरिक आन्दोलनका नेतृत्व गर्नेहरु राजनीति लगायत राज्यका कुनै न कुनै लाभका पदमा गएकाले दलीय वा डलरबादीको आरोप पनि लाग्ने गरेको उप्रेतीले बताए ।
लवाई खुवाईमा, राम्रो गाडी चढेर, डिग्री होल्डर र लवाई खुवाई राम्रो हुँदैमा परिवर्तन आउन नसक्ने बताउँदै वक्ता अर्चना थापाले समाज रुपान्तरणका लागि सोचमै परिवर्तन आउनुपर्ने बताइन् ।
अझै पनि लैङ्गिक असमानता कायम रहेको बताउँदै थापाले सबैभन्दा घरपरिवारको घेरा तोड्न कठिन रहेको बताइन् । साहित्य सिर्जनामा सक्रिय थापाले एउटा कोठाभित्र बसेर गरिने काल्पनिक साहित्यको कथा भन्दा साहित्यको काल्पनिक पानाबाट बाहिर निस्केर सडकको वास्तविक कथा बुझ्न सडकमै आएको बताइन् ।

कार्यक्रममा सहभागीहरुले नागरिक आन्दोलन र लैङ्गिकताका विषयमा राखेका जिज्ञासाको डा. उप्रेती र थापाले जवाफ दिएका थिए ।

अभियानका क्रममा लगाइने आरोपहरुले आफूलाई अझ मजबुद बनाएको बताउँदै विश्वमा अधिकारको आवाज उठाउने जो कोहीले त्यस्ता आरोपहरु खेप्ने गरेको उदाहरण प्रस्तुत गर्दै आरोपलाई आफूले पुरस्कारका रुपमा ग्रहण गर्ने बताए ।

नारी सञ्चार गृह झापाकी अध्यक्ष रेजिना गौतमको अध्यक्षता तथा सचिव मायामितु न्यौपानेको सञ्चालनमा सम्पन्न कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष सावित्रा दाहाल, निवर्तमान अध्यक्ष भीमा शिवाकोटी, पूर्व अध्यक्ष अम्बिका भण्डारी, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई, सहसचिव अर्जुन राजवंशी, पूर्वअध्यक्षद्वय केशव आचार्य, मोहनकाजी न्यौपाने, साहित्यकार तथा लेखक कृष्ण बराल, तीर्थ सिग्देल, भवानी क्षेत्री, इन्दु पूर्वेली, इन्द्रजीत मुखिया, भगवती ढुङ्गेल, गणशेमान मुखिया, पर्वत पोर्तेल, सुब्रत न्यौपाने, रमा दाहाल, जीएन शर्मा, जयप्रसाद आचार्य, मातृका संग्रौला, सुनिता तामाङ लगायत पत्रकार तथा साहित्यकारहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 78

प्रतिक्रिया (०)

सम्बन्धित खबर