Aamsanchar

मोरङमा गाउँ पसेको वयस्क चितुवा डार्ट प्रहार गरी बेहोस बनाएर नियन्त्रणमा 

Author Image
मङ्गलवार, माघ ९, २०८०

विराटनगर – मोरङको उर्लाबारीमा गाउँ पसेको वयस्क चितुवालाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको छ। उर्लाबारी नगरपालिका–१ झारसाँदीबाट अन्दाजी ४० किलोग्राम तौलको भाले चितुवा नियन्त्रणमा लिइएको सब डिभिजन वन कार्यालय मंगलबारेका प्रमुख एवं वन अधिकृत नवीनराज दाहालले जानकारी दिए।

उनका अनुसार कोशी टप्पु वन्यजन्तु आरक्ष र राष्ट्रिय प्रकृति संरक्षण कोषबाट खटिएको वन्यजन्तु विज्ञको संयुक्त टोलीले बाँसको झ्याङमा लुकेर बसेको अवस्थामा चितुवालाई नियन्त्रणमा लिएको हो।

डार्ट (औषधिजन्य सुई) प्रहार गरी बेहोस बनाएर चितुवाको उद्धार गरिएको दाहालको भनाइ छ। ‘वनबाट चितुवा अचानक गाउँ पसेछ। स्थानीयले देखेर घेरा हाले। भाग्ने बाटो नपाएपछि बाँस झ्याङभित्र छिर्‍यो,’ उनले भने, ‘त्यसपछि प्रहरी र वन कार्यालयलाई खबर आयो। त्यत्तिकै नियन्त्रणमा लिनसक्ने अवस्था थिएन। वन्यजन्तु विज्ञको टोलीले डार्ट प्रहार गर्दै बेहोस बनाएर उद्धार गरेको हो।’

 

आफ्नो प्राकृतिक वासस्थानभन्दा बाहिर आई गाउँ पसेको चितुवालाई उद्धार गर्दै वन कार्यालयमा ल्याएर कोशी टप्पु वन्यजन्तु आरक्षको जिम्मा लगाइएको जानकारी दाहालले दिए। उनका अनुसार वन जंगलमा मानवीय गतिविधि बढेपछि र खानेकुराको अभाव भएपछि आहाराको खोजीमा चितुवा गाउँ पसेको हुनसक्छ।

चितुवा दिउँसो लुकेर बस्ने र रातको समयमा आहाराको खोजीमा निस्किने स्वभावको हुने उनले बताए। गाउँमा अचानक चितुवा देखिएपछि स्थानीय त्रसित बनेका थिए। तर, त्यसले केही क्षति भने नगरेको दाहालको भनाइ छ। ‘गाउँमा चितुवा देखेपछि स्थानीयले घेरा हालेर भाग्ने ठाउँसमेत दिएनछन्,’ वन अधिकृत दाहाल भन्छन्, ‘तत्काल उद्धार गर्दै नियन्त्रणमा लिइएका कारण चितुवाले कुनै क्षति गर्न भने पाएन।’

वन अधिकृत प्रमेश्वर पासवानका अनुसार चितुवाले कुखुरा, बाख्रालगायतका जनावरको सिकार गर्छ। बेलाबखत मानिसलाई समेत आक्रमण गर्ने उनको भनाइ छ। ‘चितुवालगायतका कुनै पनि जंगली जनावर देखा परेमा जिस्क्याउने, चलाउने र अवरोध गर्ने गर्न हुँदैन,’ पासवान भन्छन्, ‘मान्छेले वन्यजन्तुबाट सुरक्षित हुने उपाय आफैं खोज्नुपर्छ।’ विशेष गरेर अवरोध गरेमा वन्यजन्तु हिंस्रक भएर मानिसलाई आक्रमण गर्ने पासवान बताउँछन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
Views: 78

प्रतिक्रिया (०)