Aamsanchar

मोरङमा कसरी पुग्याे हिउँ चितुवा ?

Author Image
बुधवार, माघ १०, २०८०

माेरङ – हिजो मोरङको उर्लाबारीमा हिउँ चितुवा फेला परेको घटनाप्रति संरक्षण अभियन्ताहरूले चिन्ता व्यक्त गरेका छन् । ४ हजार मिटरभन्दा बढी उचाइमा विचरण गर्ने हिउँ चितुवा १ सय ५० मिटरको उचाइमा भेटिनु चिन्ताको विषय भएको हिउँ चितुवाबारे लामो समय अनुसन्धान गरेका त्रिभुवन विश्वविद्यालयका प्राध्यापक करन शाहले बताउनुभयो ।

उहाँका अनुसार खाना खोज्दै वा अरू कारणले हिउँ चितुवा मोरङको उर्लाबारीमा आइपुग्न असम्भवजस्तै छ । त्यसैले यो चोरी सिकारी वा कुनै किसिमबाट मानिसले ल्याएको हुन सक्ने उहाँको अनुमान छ । चोर सिकारीले जिउँदै हिउँ चितुवा समातेर अन्यत्र लैजाने घटना यसअघि नदेखिएकोले यो घटनाबाट शङ्का बढेकोले अनुसन्धान गर्नुपर्ने प्राध्यापक शाहले बताउनुभयो ।

हिजो बाँसघारीमा लुकेको अवस्थामा स्थानीयले देखेर खबर गरेपछि राष्ट्रिय प्रकृति संरक्षण कोषको टोलीले हिउँ चितुवालाई बेहोस पारी नियन्त्रणमा लिएको थियो । समातिएको हिउँ चितुवाको पुच्छर लामो नभएको, शरीरमा हुनुपर्ने जति रौँ विकसित भएको नदेखिएको जस्ता कारण यो हिउँ चितुवा बच्चैमा कसैले समातेर पालेको र अहिले भागेको हुन सक्ने शाहको अनुमान छ । हुनै नसक्ने घटना देखिएकोले हिउँ चितुवा भेटियो भनेर खुशी नभई कसले किन ल्यायो भन्नेतर्फ अनुसन्धान हुनुपर्ने संरक्षणकर्मीको जोड छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 87

प्रतिक्रिया (०)

सम्बन्धित खबर