![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2021/12/मौसम-jado-1.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/08/golary.png)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
काठमाडौं । तराई मधेशका जिल्लाहरुमा लाग्दै आएको बाक्लो हुस्सु र कुहिरो आज अलि छिटो खुल्ने सम्भावना रहेको मौसमविदले जनाएका छन् । पश्चिमी वायुले ल्याएको बादलको प्रभावले हुस्सु र कुहिरो छिटो खुल्ने मौसमविदको भनाइ छ । तर त्यो बादलले पानी पार्ने सम्भावना भने छैन ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद सरोज पुडासैनीका अनुसार अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
आजै पश्चिमी वायुको अर्को एउटा प्रणाली भित्रिंदै छ । जनवरी २७ तारिख (शनिबार) मा पनि अर्को प्रणाली भित्रिँदै छ । ती प्रणालीमा पानीको मात्रा नभएकाले वर्षाको सम्भावना तत्काल देखिएको छैन ।
तर ती बादलको प्रभावले हुस्सु कुहिरो छिटो फाट्न मद्दत गर्ने मौसमविद पुडासैनी बताउँछन् । ‘माथिल्लो वायुमण्डलमा बादलहरु आउँदाखेरि तल्लो वायुमण्डलमा रहेको हुस्सु कुहिरो लाग्दैन,’ उनले भने, ‘त्यसले हुस्सु कुहिरो चाँडै फाट्न मद्दत गर्छ ।’
उनले आजै पश्चिमी वायुको एउटा प्रणाली भित्रिएकाले मध्य र पूर्वी तराईमाको तुलनामा पश्चिम तराईमा हुस्सु कुहिरो छिटो खुल्ने सम्भावना रहेको बताए ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार केही दिनयता तराई मधेशका जिल्लामा बिहानपख बाक्लो हुस्सु कुहिरो लाग्दै आएको छ । आज बिहान झापाको चन्द्रगढी र बाँकेको नेपालगञ्जमा बाक्लो हुस्सु लागेकाले पारदर्शिता एक सय मिटरभन्दा कम रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद पुडासैनीले जानकारी दिए ।
उनका अनुसार विराटनगरमा ५०० मिटर, धनगढीमा १५ सय मिटर, भैरहवामा १८ सय मिटर पारदर्शिता छ । दाङको घोराहीमा भने पारदर्शिता ६ हजार मिटर रहेको पुडासैनीले जानकारी दिए ।
नेपालमा हिउँदयाम सकिनै लाग्दा समेत पानी परेको छैन । हाल नेपाल भित्रिएको पश्चिमी वायुको प्रणालीमा पानीको मात्रा कम भएकाले वर्षा नभएको हो ।
आज दिउँसो र राति कोशी, गण्डकी र बागमती प्रदेशका उच्च पहाडी भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।