
काठमाडौंः प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधिसभा बैठकमा विभिन्न अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची तय गरिएको छ। सरकारले हालै ल्याएको अध्यादेश उनले संसद्मा पेस गर्न लागेका हुन्।
आज दिउँसो २ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ। संघीय संसद्को बजेट अधिवेशन आजैदेखि सुरु हुन लागेको हो। बैठकका निम्ति विभिन्न सम्भावित कार्यसूची तय गरिएको छ।
बैठकमा प्रधानमन्त्री बालेनले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३’ पेस गर्ने सम्भावित कार्यसूची छ। उनले नै ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ र ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन)अध्यादेश, २०८३’ पेस गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ।
यस्तै, अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३’ पेस गर्नेछन्। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ पेस गर्ने सम्भावित कार्यसूची छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३’ पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ पेस गर्नेछिन्।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले ‘विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
बैठकको प्रारम्भमा सभामुख डोलप्रसाद (डीपी) अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन्। त्यसपछि सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् हेरफेरसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन्। उनले नै सभामुखको अनुपस्थितमा बैठकको अध्यक्षता गर्न सांसदहरूको मनोनयन गर्ने सम्भावित कार्यसूची छ।
यस्तै, सभामुख अर्यालले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २६० बमोजिम जारी भएको बाधा अड्काउ फुकाउ अनुमोदनका निम्ति पेस गर्नेलगायत सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
आजै दिउँसो २ बजे राष्ट्रियसभाको बैठक पनि बस्नेछ। त्यसपछि अपराह्न ४ बजे बस्ने संघीय संसद्को संयुक्त बैठक (प्रतिनिधिसभा र राष्ट्रियसभा)मा राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्।


