Aamsanchar

२० वर्षअघि भएको सामूहिक हत्या प्रकरणमा संलग्न एक महिला केराबारीबाट पक्राउ

Author Image
बिहिवार, माघ ११, २०८०

विराटनगर – संखुवासभामा २० वर्षअघि भएको सामूहिक हत्या प्रकरणमा संलग्न एक जना महिलालाई प्रहरीले मोरङको केराबारीबाट पक्राउ गरेको छ।

कर्तव्य ज्यान मुद्दामा अदातलबाट दोषी ठहर भए पनि सजाय भुक्तान नगरिकन फरार बनेकी संखुवासभाको साविकको शिद्धकाली गाविस-२ (हालको चैनपुर नगरपालिका)की अन्दाजी ३५ वर्षीया कैली तामाङ पक्राउ परेकी हुन्। मोरङको केराबारी गाउँपालिका-१० स्थित मोहन नेपालको घरबाट तामाङलाई बुधबार पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए।

२०६० सालमा २ जना पुरुषको सामूहिक हत्या गरिएको घटनामा संलग्न भएकी तामाङ फरार हुँदै मोरङ झरेको र अहिले नेपालकै घरमा डेरा बस्दै आएको खुलेको छ। डीएसपी दाहालका अनुसार इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर तेजबहादुर दाहाल र इलाका प्रहरी कार्यालय केराबारीका वरिष्ठ सइ विकास खत्री नेतृत्वको संयुक्त टोलीले बुधबार तामाङलाई पक्राउ गरेको हो।

 

कर्तव्य ज्यान मुद्दाकी प्रतिवादी तामाङलाई घटनामा संलग्न रहेको भनेर संखुवासभा जिल्ला अदालत चैनपुरले दोषी ठहर गरिसकेको छ। अदालतले २०६६ साल फागुन १२ गते मुद्दाको किनारा लगाउँदै उनलाई २० वर्ष कैद सजाय हुने फैसला गरेको थियो।

हत्यापछि भागेकी उनी सजाय भुक्तान नगरिकन मोरङको ग्रामीण क्षेत्रमा लुकिछिपी बस्दै आएकी थिइन्। मोरङबाट पक्राउ गरेर प्रहरीले तामाङलाई बिहीबार संखुवासभास्थित इलाका प्रहरी कार्यालय चैनपुरको जिम्मा लगाएको छ। प्रहरीले संखुवासभा पुर्‍याएर उनलाई अदालतमा पेस गर्ने तयारी गरेको छ।

संखुवासभा जिल्ला अदालत चैनपुरका स्रेस्तेदार रामचन्द्र केसीले तामाङलाई सजाय भुक्तानका लागि कारागार चलान गरिने बताए। उनका अनुसार संखुवासभाको साविकको शिद्धकाली(२ का मंगल लिम्बू र योगेन्द्र दाहालको २०६० फागुन १० गते सामूहिक हत्या भएको थियो। पारिवारिक नाता सम्बन्धका ८ जना मिलेर उनीहरुको हत्या गरेको खुलेको छ।

खानेपानीको पाइप हराएको विषयलाई लिएर दुई पक्षबीच विवाद हुँदा हाल पक्राउ परेकी कैली तामाङसहित राजेन्द्र तामाङ, राजेन्द्रकी पत्नी निर्मला पाण्डे ९तामाङ०, गोपाल तामाङ, देवीमाया तामाङ, गणेश तामाङ, धनमाया तामाङ एवं लोकबहादुर तामाङ मिलेर मंगल र योगेन्द्रको हत्या गरेको प्रहरी अनुसन्धानबाट पत्ता लागेको हो।

अदालतका स्रेस्तेदार केसीले घटनामा संलग्नमध्ये हालसम्म कति जना पक्राउ परे भनेर यकिन गर्ने काम भइरहेको बताए। ‘खानेपानीको पाइप हराएको विवाद उत्कर्षमा पुग्दा पारिवारिक नाता सम्बन्धका ८ जना मिलेर २ जनाको सामूहिक हत्या गरेको पाइएको छ। घटनामा संलग्नविरुद्ध दर्ता भएको कर्तव्य ज्यान मुद्दाको १४ वर्षअघि नै अदालतबाट फैसला भइसकेको छ,’ केसीले भने, ‘अभियुक्तमध्ये अहिले कैली तामाङ पक्राउ परेकी छन्। अन्य अभियुक्तहरु पक्राउ परेका छन् कि छैनन् भनेर बुझ्ने काम भइरहेको छ।’

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 24

प्रतिक्रिया (०)

सम्बन्धित खबर