Aamsanchar

झापाका एक जनासहित लागूऔषध अभियोगमा आठ जना पक्राउ

Author Image
आइतवार, माघ १४, २०८०

काठमाडौं । देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ८ जना पक्राउ परेका छन् । बाराको महागढीमाई नगरपालिका–१ गढीमाई मन्दिरस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय २ ग्रामसहित सुर्वण गाउँपालिका–७ सनफुलुवा बस्ने ४१ वर्षीय उमेश कुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बरियारपुरबाट खटिएको प्रहरीले बा.९४ प ६११४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक यादवलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

मोरङ, बिराटनगर महानगरपालिका–१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ५७ मिलिग्रामसहित सोही महानगरपालिका–१२ बस्ने २३ वर्षीय शौरभ सोनीलाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

बर्दियाको बाँसगढी नगरपालिका–९ पहाडिपुरबाट अवैध लागूऔषध गाँजा करिब १ किलो ४५ ग्रामसहित सोही नगरपालिका–९ माछागड बस्ने २४ वर्षीय अम्मर बहादुर चनारालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी लक्ष्मणाबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानी बस्ने २७ वर्षीय बिस्सुराज लामालाई अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ करिब १ सय २५ ग्रामसहित प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले लामाको घरबाट उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।

सिरहाको धनगढीमाई नगरपालिका–५ स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब २ किलो र नगद ६ हजार ४ सय ४५ रूपैयाँसहित सोही नगरपालिका–१३ भोर्लेनी बस्ने ४८ वर्षीय राम सुफल महतोलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

बाँकेको नेपालगंज उपमहानगरपालिका–१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कोहलपुर नगरपालिका–१३ बस्ने २८ वर्षीय बिकल्प पुन मगर र २२ वर्षीय सुरेश नाथ योगी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज र ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

झापाको दमक नगरपालिका–९ बस्ने २६ वर्षीय पासाङ तामाङलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्रामसहित प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 25

प्रतिक्रिया (०)

सम्बन्धित खबर