Aamsanchar

उपल्लो मुस्ताङ र मुक्तिक्षेत्रमा बिहानैदेखि भारी हिमपात

Author Image
बिहिवार, माघ १८, २०८०

जोमसोम – उपल्लो मुस्ताङ र मुक्तिक्षेत्रमा बिहीबार बिहानैदेखि भारी हिमपात भएको छ ।जिल्लाको मुक्तिनाथ क्षेत्र तथा उपल्लो मुस्ताङका दुई पालिकामा भारी हिमपात भइरहेको स्थानीयले बताएका छन्। उपल्लो मुस्ताङमा भारी हिमपात भइरहँदा तल्लो मुस्ताङमा भने हावाहुरीका कारण हिउँ पर्न सकिरहेको छैन । मुस्ताङमा बिहानदेखिनै मौसम धुमिल भइरहेको छ । यसका बावजुद तल्लो मुस्ताङमा हिउँ पर्ने सम्भावना प्रवल बनेको बताइएको छ ।

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—१ मुक्तिनाथ क्षेत्रमा एक फिट हिउँ परेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रनाउ भोजराज पाण्डेले जानकारी दिए । यसैगरी उपल्लो मुस्ताङको सीमावर्ती क्षेत्र लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका विभिन्न स्थानमा हिमपात भइरहेको प्रनाउ पाण्डेले उल्लेख गरे । ‘बिहानैदेखि वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाकादेखि माथिल्लो क्षेत्रमा ब्यापक हिमपात भइरहेको छ,हिमपातले मुक्तिक्षेत्र र उपल्लो मुस्ताङका डाँडाकाँडा हिउँले चाँदी झै सेताम्मे भइसकेको छ, प्रनाउ पाण्डेले भने,‘मुक्तिक्षेत्रको रानीपौवा बजार र उपल्लो मुस्ताङका ग्रामिण बस्तीमा समेत बाक्लो हिउँ परेको छ।’

 

मुस्ताङमा जारी सिजनमा तेस्रो पटक हिमपात भएको हो । यसअघि मंसिरको दोस्रो साता र माघको १२ गते मुस्ताङमा हिमपात भएको थियो । तर, मुस्ताङमा दोस्रो पटक हिमपात हुँदा उपल्लो मुस्ताङमा हिमपात भएको थिएन । तल्लो मुस्ताङको थासाङमा हिमपात भएको थियो । जलवायु परिवर्तनका कारण मुस्ताङमा असमान प्रकारको हिमपात हुने गरेको छ । कुनै वर्ष अत्यधिक हिमपात ,कुनै वर्ष आशिंक हिमपात र कुनै वर्ष हिमपात हुँदैन ।

गतवर्ष मुस्ताङमा बेमौसममा हिमपात भएको थियो । अनुकूल समयमा हिमपात नहुँदा मुस्ताङमा स्याउ लगायतका खाद्य बाली तथा फलफूल उत्पादनमा समेत ह्रास आएको थियो । मुस्ताङमा तेस्रो पटक हिमपात भएसँगै स्थानीयको जनजीवन समेत प्रभावित बनेको छ ।

हिमपातसँगै उपल्लो मुस्ताङमा चिसो ह्वात्तै बढेको छ । स्थानीय बासिन्दा हिमपातका कारण घरबाट बाहिर निस्कन सकेका छैनन् । चिसो र हिमपातका कारण घरका धारा,सेफ्टी ट्याङ्की,सिचाई कुलो र शाखा नदी समेत बरफ जमेको लोमान्थाङका स्थानीय आङ्गेल गुरुङले जानकारी दिए । घरका धारा जमेपछि स्थानीयले बरफ पानी तताएर पिउने गरेका छन् । पशु चौपायाको व्यवस्थापन र आहारा खुवाउन समेत असर परेको उनले बताए । उपल्लो मुस्ताङको सडकमार्गमा समेत बाक्लो हिउँ जमेकाले सवारी साधन आउजाउ समेत अवरुद्ध बनेको उनले बताए । मुस्ताङमा यसवर्ष एक साताको फेरोमा पुनस् हिमपात भएसँगै जिल्लाका कृषकहरु उत्साहित बनेका छन् । हिउँदयामको अनुकूल समयमा परेको हिउँ कृषकका लागि बरदान सावित हुने कृषि ज्ञान केन्द्र मुस्ताङका कार्यालय प्रमुख प्रकाश बस्ताकोटीले उल्लेख गरे । हिमपातले खेतीयोग्य जमिनलाई सिञ्चित गर्ने,हिउँको पानी जमिनको भित्री तहसम्म सर्कुलर हुने भएकाले खेतीयोग्य जमिनको उर्वराशक्ति बढाउन ठूलो योगदान पुग्ने कार्यालय प्रमुख बस्ताकोटीको भनाइ छ । हिउँ सिचाइँका लागि मात्र नभइ शीतोष्ण फलफूल तथा तरकारी र अन्नबालीमा लाग्ने विभिन्न रोग संक्रमणलाई प्रतिरोध गर्नसक्ने क्षमता भएकाले हिउँदयामको हिउँ कृषकका लागि बरदान भएको उनको भनाइ छ ।

मुस्ताङमा यसवर्ष अनुकूल समयमा हिउँ पर्न थालेकाले यही क्रममा रहेमा फागुनमा मुक्तिनाथमा स्की प्रतियोगिता आयोजना गर्न सकिने सम्भावना रहेको मुक्तिनाथका पर्यटन व्यवसायी सुरज गुरुङले बताए । मुक्तिनाथमा यसअघि ३ पटक राष्ट्रिय स्की प्रतियोगिता आयोजना गरिएको थियो । हिमपातसँगै मुस्ताङमा पर्यटकीय गतिविधि समेत बढ्न सक्ने अपेक्षा गरिएको छ । फागुन सुरु भएपछि मुस्ताङमा पर्यटकीय चहलरपहल सुरु हुन्छ । हिउँ हेर्न र खेल्न पर्यटकहरु मुस्ताङ आउने भएकाले अझै हिउँ पर्न आवश्यकता रहेको स्थानीयबासीको भनाइ छ । हिउँदयाममा अत्यधिक चिसो हुने भएकाले मुस्ताङका अधिकांश नागरिक जाडो छल्न बेसी झरेका छन् । पर्यटक व्यवसायी,स्थानीय नागरिक र कर्मचारीहरु समेत जाडो छल्न बेसी झरेकाले मुस्ताङ अहिले सुनसान छ । उच्चलेंक र खर्कका याकचौरी र भेडाच्यांग्रा न्यानोका लागि बस्ती नजिक सारिएको छ । जिल्लाका शैक्षिक संस्थालाई दुई महिना लामो बिदा दिइएको छ । उपल्लो मुस्ताङका विद्यालय भने जाडो छल्दै घुम्ती कक्षा सञ्चालन गदै बेसीमा स्थान्तरण भएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 41

प्रतिक्रिया (०)

सम्बन्धित खबर