Aamsanchar

काष्ठमण्डप क्षेत्रमा पचली भैरवको खड्गसिद्धी नाच शुरू

Author Image
शनिवार, माघ २०, २०८०

काठमाण्डौ – काठमाण्डौको पचली भैरवको खड्गसिद्धी नाच काठमाण्डौको काष्ठमण्डप क्षेत्रमा शुरू भएको छ । हिजो बेलुकीदेखि काष्ठमण्डप क्षेत्रमा शुरु भएको तान्त्रिक नाच आज दिनभर चल्नेछ । काठमाण्डौको मालाकार समुदायबाट सञ्चालित पचली भैरव नाचमा कुमारी, गणेशसहित १२ देवगण रहन्छन् ।

देवगणहरुले हिजो शुक्रवार भैरव नाच प्रदर्शन गरेका थिए । आज गणेश, ब्रम्हायणी, रुद्रायणी, नारायणी लगायतको नाच प्रदर्शन गर्नेछन् । एक ठाउँमा नाच देखाउन देवगण नाइके वाद्यगुरुसहित ५० जनाभन्दा धेरै अनिवार्य सहभागी हुनुपर्छ । १२ वर्षे यो नाच काठमाण्डौको मरु टोल, हनुमानढोका, लगन टोल, पचली, इन्द्रचोक, असन, भीमसेनथान, नक्साल, हाँडीगाउँलगायत पाटन, भक्तपुर, साँखु, गोकर्ण, चाँगुमा लगेर प्रदर्शन गर्ने चलन छ ।

तत्कालीन समयमा राजा र देवताबीच खड्ग साटासाटको रुपमा लिइने यो तान्त्रिक नाच हरेक १२ वर्षमा देखाउने गरिन्छ । बडादशैँको टीकाको दिन टेकुको पचली भैरव मन्दिरबाट शुरु भएको यो नाच २०८१ सालको बडादशैँको अष्टमीका दिन समापन हुन्छ ।

नाच समापन भएपछि पात्रहरूले लगाउने सबै मुखौटा टेकु दोभानमा जलाउने परम्परा छ। पञ्चलिङ्गेश्वर, पञ्चमुखी लिङ्गेश्वर र स्वछन्द भैरवको नामले प्रसिद्ध पचली भैरवको जात्रा मनाउने परम्परा नेपाल संवत् ५०५ मा राजा भएका शिवसिंह मल्लले चलाएका इतिहासमा उल्लेख छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 32

प्रतिक्रिया (०)

सम्बन्धित खबर