Aamsanchar

कोशी राजमार्ग अवरुद्ध

Author Image
शनिवार, माघ २०, २०८०

संखुवासभा – संखुवासभाको उत्तर दक्षिण कोशी राजमार्गअन्तर्गतको खाँदबारी–किमाथाङ्का सडक सुक्खा सडक पहिरोले अवरुद्ध भएको छ।

मकालु–३ हेदाङ्नास्थित नयाँबस्तीमा सुक्खा पहिरो खसेपछि उत्तर दक्षिण कोशी अवरुद्ध भएको हो। मकालु–३ नयाँबस्तीमा सुक्खा पहिरो खसेपछि उत्तर दक्षिण कोशी राजमार्ग अवरुद्ध भएको उत्तर दक्षिण सडक कार्यालयका प्रमुख इञ्जिनीयर सविन कोइरालाले जानकारी दिए।

शनिबार बिहान ८ बजे खसेको सुक्खा पहिरोमा परेर एकजना घाइते भएका छन्। घाइते हुने रामेछाप जिल्लाका २१ वर्षीय स्काभेटर सहचालक सविन केसी रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए। घाइते केसीको थप उपचारका लागि जिल्ला अस्पताल खाँदबारी ल्याइएको प्रहरी निरीक्षक लामिछानेले बताए।

सुक्खा पहिरोमा परेर वरुण निर्माण सेवा कम्पनीको एक थान स्काभेटर समेत पुरिएको छ। अवरुद्ध कोशी राजमार्गको पहिरो हटाउने काम भइरहेको उत्तर दक्षिण कोशी सडक आयोजनाका प्रमुख इञ्जिनीयर कोइरालाले बताए। सडक अवरुद्ध भएपछि भोटखोलाबाट सदरमुकाम खाँदबारी आउने बस, बोलेरो गाडी र दर्जनौँ यात्रु नयाँबस्ती नजिकै अलपत्र परेका छन्।

त्यस क्षेत्रमा लगातार सुक्खा पहिरो खसिरहने भएका कारण वेलावेला कोशी राजमार्गको भोटखोला सडकखण्ड अवरुद्ध हुने गरेको छ। उक्त क्षेत्रमा वरुण निर्माण सेवा कम्पनीले सडक स्तरोन्नतिको काम गरिरहेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 95

प्रतिक्रिया (०)

सम्बन्धित खबर