Aamsanchar

हुम्ला-जुम्लामा हिमपात

Author Image
आइतवार, माघ २१, २०८०

जुम्ला – आज (आइतवार) विहानदेखि जुम्लालगायत माथिल्लो कर्णालीका जिल्लामा हिमपात भएसँगै जनजीवन प्रभावित भएको छ। हिमपातपछि हवाई सेवा अवरुद्ध भएको छ।

अत्यधिक चिसो मौसममा यो वर्षको हिउँदमा जुम्लामा हिमपात भएपछि किसानले लगाएको हिउँदे बालीनालीलाई राहत पुगेको गुठीचौर गाउँपालिका स्थानीय दीपक बुढाले बताए। हिउँ पर्न थालेपछि बढेको अत्यधिक जाडोले जुम्लाको जनजीवन कष्टकर बनेको छ।

निजी विद्यालयमा पठनपाठन बन्द भएको स्थानीय सरिता थापाले बताइन्। अहिले लगातार हिउँ परेको छ। सरकारी कार्यालय खुले पनि सेवाग्राही सेवा लिन नआएको तिला गाउँपालिकाले जनाएको छ।

जिल्लाको तापक्रम ‘माइनस’मा पुगेको हावापानी फिल्ड कार्यालय जुम्लाले जनाएको छ। हिउँ परेपछि सदरमुकाम खलंगाको बजार बन्द भएको छ। यातायातका साधन राम्रोसँग चल्न पाएका छैनन्।

हिमपातबाट हिउँदे बालीलाई निकै राहत पुगेको कृषि विकास कार्यालय जुम्लाका कृषि प्राविधिक सुष्मा बुढाले बताइन्। स्याउका नयाँ बिरुवा लगाउने समय पनि भएकाले हिउँ पर्दा सहज भएको उनको भनाइ छ।

हुम्लामा पनि हिमपात‚ उडान बन्द

हुम्लामा आज विहान हिमपात भएको छ। यस वर्ष जिल्लामा चौथोपटक हिमपात भएको हो। शनिवार दिउँसो घाम लागेको भए पनि राति एक्कासी मौसममा फेरिएर बाक्लो बादल लागेर आज विहान हिमपात भएको हो।

विहानदेखि हिमपात भइरहँदा सदरमुकाम सिमकोटमा १ इञ्चभन्दा बढी हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकाको लिमीमा २ इञ्चभन्दा बढी हिउँ जमेको लिमी स्वास्थ्यचौकीका स्वास्थ्यकर्मी गोखर भण्डारीले बताए।

स्वास्थ्यकर्मी भण्डारीकाअनुसार लिमीमा अत्यधिक चिसो बढेकाले जनजीवन कष्टकर बनाएको छ। चिसोले लिमीका स्थानीयलाई समस्या बनाएको उनले बताए।

चिसोका कारण घरबाहिर निस्कन र हिँड्डुल गर्न समस्या बनाएको उनले बताए। उत्तरी नाम्खा गाउँपालिकाको लिमी, हिल्सा, नारालेख, याङ्गारलगायतका उच्च भागमा बाक्लो हिउँ जम्नुका साथै हिमपात भइरहेको छ।

उत्तरी नाम्खा, सिमकोट, खार्पुनाथलगायत अधिकांश उच्च क्षेत्रमा विहान हिमपात भयो भने होचो स्थानमा पानी परेको छ।

यसपटक लगातारजस्तै भएको हिमपातले जेठासी बाली गहुँ, जौ, उवालाई राम्रो हुनुका साथै कात्तिके बाली लगाउन सहयोग भएको स्थानीय कमल भण्डारीले बताए।

हुम्लालाई अन्तर जिल्ला जोड्ने एकमात्र यातायातको साधन हवाई सेवा अवरुद्ध भएको छ। नेपालगञ्ज, सुर्खेतबाट उडान गर्ने निजी एयरलाइन्सका सेवा अवरुद्ध भएको हो।

आज विहानैदेखि हिमपात हुँदा नेपालगञ्ज, सुर्खेतबाट हवाई उडान हुन नसकेको हो भने हुम्लाबाट नेपालगञ्ज, सुर्खेत जाने यात्रु सिमकोटमै रोकिएका छन्।

शनिवार तारा एयरले नेपालगञ्जबाट एउटा उडान गरेको सो एयरलाइन्स सिमकोट शाखा कार्यालयका लोकेन्द्र बोहराले बताए। अन्य कुनै पनि हवाईजहाजले उडान भर्न सकेनन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 30

प्रतिक्रिया (०)

सम्बन्धित खबर