Aamsanchar

दादुरा–रुबेलाविरुद्धको ६० लाख ५० हजार मात्रा खोप ल्याइयाे

Author Image
सोमवार, माघ २२, २०८०

काठमाण्डौ – सरकारले दादुरा–रुबेलाविरुद्धको ६० लाख ५० हजार मात्रा खोप ल्याएको छ । स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डाक्टर अभियान गौतमले दुई लाख ८० हजार मात्रा खोप आउन बाँकी रहेको बताउनुभयो । अभियान सञ्चालन गरी झन्डै ५७ लाख बालबालिकालाई यो खोप लगाइने कार्यक्रम रहेको छ ।

सरकारले देशभरि नै सम्भावित सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै १५ वर्षमुनिका बालबालिकालाई आउँदो फागुन १३ देखि चैत ७ गतेसम्म खोप अभियान सञ्चालन गर्ने जनाएको छ । भारतसँग सीमा जोडिएका तथा दादुरा–रुबेलाको अति सङ्क्रमित २१ जिल्ला र काठमाण्डौ उपत्यकाका तीन गरी २४ वटा जिल्लामा नौ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई खोप लगाइने खोप शाखाका प्रमुख डा। गौतमले जानकारी दिनुभयो । क्रमशः ५१ जिल्लाका नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई पनि खोप अभियानमा सहभागी गराइने उहाँको भनाइ थियो ।

सरकारले यसअघि नै भूकम्पका बेला जाजरकोट र पश्चिम रुकुममा खोप अभियान सञ्चालन गरिसकेको छ । सन् २०२६ सम्म दादुरा–रुबेला निवारण गर्ने लक्ष्यका साथ खोप अभियान सञ्चालन गर्न थालिएको हो । खोप आपूर्ति व्यवस्थापन शाखाका प्रमुख डा। सुरेन्द्र चौरसियाले खोप चाँडै नै जिल्लामा पठाइने बताउनुभयो ।

दादुरा–रुबेला भएको बेला ज्वरो आउने, शरीरमा राता बिबिरा आउने, रुघाखोकी लाग्ने, आँखा पाक्ने लक्षण दखिने भन्दै समयमा उपचार नगरे आँखा नदेख्ने समस्याका साथै निमोनिया, कान पाक्नेलगायत समस्या हुने उहाँले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 38

प्रतिक्रिया (०)

सम्बन्धित खबर