Aamsanchar

मेनुका पौडेललाई झापामा अभिनन्दनसहित भव्य स्वागत

Author Image
सोमवार, माघ २२, २०८०

झापा – चर्चित रियालिटी शो ‘इन्डियन आइडल सिजन–१४’ को उत्कृष्ट १० मा पुगेकी नेपाली चेली मेनुका पौडेललाई सीमावर्ती शहर काँकडभिट्टामा सोमवार सार्वजनिक अभिनन्दनसहित भव्य स्वागत तथा सम्मान गरिएको छ ।

भारतको मुम्बईबाट बागडोग्रा एयरपोर्ट हुँदै नेपाल आउँदै गर्दा उनलाई दिउँसो पूर्वी सीमावर्ती नाका मेची पुल पुगेर उनका समर्थक एवं संगीतप्रेमीहरुले समेत अबिर, खादा र माला पहिराएर उत्सव मनाएका थिए ।

“धेरैपछि आज नेपाल आएको छु” स्वागतार्थ प्रतीक्षामा बसेका समर्थकहरूप्रति खुसी व्यक्त गर्दै उनले भनिन्,“सबैलाई नमस्कार, आइडलको स्टेज मेरो लागि एकदमै उत्कृष्ट रह्यो, सुरुदेखि अहिलेसम्मका गीतहरू मेरा लागि ठुलो अनुभूति भयो ।”

त्यस क्रममा उनले नेपाली कला र संस्कृति जोगाउनुपर्ने कुरा राख्दै त्यसका लागि नेपाल सरकारलाई आग्रह गरिन् ।गायिका पौडेलको स्वागतका लागि संविधानसभा सदस्य उषा गुरुङ, महिला नेतृहरू राधा कार्की, बिटु गुरुङ, बबिता पाण्डे, सामाजिक अगुवा नारायण बस्नेत, युवा व्यवसायी सुरज सुवेदीलगायत उपस्थित थिए ।

मेची पुल, काँकडभिट्टा बजारलगायतका स्थानमा गरिएको अभिनन्दनका क्रममा जिल्ला नेत्रहीन संघ झापा, हल्दिबारी गाउँपालिकावासी, वीरता लेडी जेसीज बिर्तामोड, मेची सामुदायिक सेवा केन्द्रलगायत काँकडभिट्टावासी सहभागी थिए ।

उक्त रियालिटी शोमा आफ्नो प्रस्तुति दिएर नेपाललाई विश्वभर चिनाएकी गायिका पौडेलको स्वागत तथा अभिनन्दनका लागि बिहानैदेखि काँकडभिट्टा बजारमा विभिन्न संघ संस्था र स्थानीय भेला भएका थिए ।

मेनुका नेपाल आउँदै गरेको खबर पाएपछि उनका समर्थक एवं संगीतप्रेमीहरु ‘नेपालीहरूको शान, मेनुका पौडेलप्रति उच्च सम्मान’ लेखिएको ब्यानर बोकेर प्रत्यक्ष रुपमा बधाई दिन पर्खिरहेका थिए । बिर्तामोडस्थित सप्तक सङ्गीत विद्यालयको अगुवाइमा काँकडभिट्टाबाट सुरु भएको अभिनन्दन र्‍यालीले धुलाबारी, चारआली हुँदै बिर्तामोड नगरको परिक्रमा गरेको छ ।

उनलाई सो विद्यालयका संस्थापक एवं गुरु सरोज वत्स, चर्चित हास्य कलाकार बिल्सनविक्रम राईलगायतको टोली बिहानै भारतको बागडोग्रा एयरपोर्ट प्रस्थान गरेको थियो । झापाको हल्दिबारी गाउँपालिका–४, जलथल बडावारिकी उनले उक्त रियालिटी शोमा प्रतिस्पर्धा गरी संसारलाई चकित पारेकी थिइन् । गायिका पौडेलले आफ्नो गायनकलाबाट निर्णायक मण्डललाई मन्त्रमुग्ध पार्दै मन जितेकी थिइन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 103

प्रतिक्रिया (०)

सम्बन्धित खबर