![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/02/InShot_20240206_085010161.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
तनहुँ – देवघाट गाउँपालिका-५ स्थित मणिमुकुन्देश्वर चक्रवर्ती महादेव मन्दिर परिसरमा पुरातत्व विभागले ५०० वर्षअघिको पञ्चदेवलको पुनर्निर्माण गरेको छ। पुरातत्त्व विभागद्वारा तीन वर्षअघि उत्खनन गरिएको स्थानमा मन्दिर निर्माण गरिएको हो।
विभागको टोलीले मन्दिर परिसरको पाँचवटा मन्दिर (पञ्चदेवल) को उत्खनन गरेको थियो। ५०० वर्षअघि सोह्रौँ शताब्दीमा तत्कालीन पाल्पाली राजा मणिमुकुन्द सेनले त्रिशूली र कालीगण्डकीको सङ्गम देवघाटमा आई ध्यान गरी विभिन्न मठमन्दिर र देवालयको निर्माण गरेका थिए। विभिन्न प्रमाणका आधारमा त्यस समयमा निर्मित मठमन्दिर र देवालयको शैली, ढाँचा र शिल्पीको पहिचान गर्न उत्खनन् गरेको विभागले जनाएको छ ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
मन्दिर परिसरमा रहेका पाँच मन्दिरमध्ये चक्रवर्ती महादेवको मन्दिरको पुनर्निर्माण ८० लाखको लागतमा यसअघि नै सम्पन्न गरिएको थियो । बाँकी चार मन्दिरको उत्खनन गरी हालै पुनःनिर्माण सम्पन्न भइसकेको छ। उत्खननका क्रममा पाँच शताब्दीऔँअघिको शिलालेख र करुवामा सिक्का भेटिएको देवघाट क्षेत्र विकास समितिका पूर्वअध्यक्ष शिवराज पौडेलले जानकारी दिए।
उत्खनन तथा पुनःनिर्माणमा विभागका प्राविधिकसहित पाँच र गैरप्राविधिक मजदुरसहित २५ खटिएका थिए। उत्खननका क्रममा मुख्य मन्दिरको गर्भ भागमा शिवलिङ्ग भेटिएको उनले बताए। उनका अनुसार शिवलिङ्ग भेटिएपछि उक्त मन्दिर महादेवको मन्दिर रहेको पुष्टि भएको थियो ।
उक्त मन्दिर मुकुन्देश्वर महादेवको नामले चिनिन्छ । पाल्पाका तत्कालीन राजा मुकन्द सेनले स्थापना गरी पूजाआजा गरी मानी आएकाले मुकुन्देश्वेर महादेव रहेको बताइन्छ। जुन–जुन स्थानमा उत्खनन गर्दा जे प्रमाण भेटिन्छ सोहीअनुसारको मन्दिरको पुनर्निर्माण गरिएको थियो।
उत्खनन् त्यसको प्रतिवेदनका आधारमा मन्दिर पुनःनिर्माणको ढाँचा र शैली तयार भएको थियो। पूर्व अध्यक्ष पौडेलका अनुसार पुरातत्त्व विभागबाट शिला कुँदेर मन्दिर पुनःनिर्माण गर्दा सिमेन्ट र छडको प्रयोग गरिएको छैन। ऐतिहासिक, पौराणिक एवं पुरातात्त्विक महत्वको पावन तीर्थस्थल देवघाटधाममा रहेका सम्पदाको संरक्षण गर्नसके धार्मिक पर्यटनको विकास गर्न सकिने उनको भनाइ छ।