Aamsanchar

यसरी नाचे १०८ भारी दाउरा बालेर बनाइएको आगाको भुंग्रोमा १२ डांग्रे

Author Image
बिहिवार, माघ २५, २०८०

काठमाडौँ – पुवर थापा परिवारले तान्त्रिक विद्याअनुसार १०८ भारी दाउरा बालेर बनाइएको आगाको भुंग्रोमा नाचेर खली खुवाएका छन्।

गएराती चाँगुनारायण नगरपालिका वडा–५ पिखेल चौतारा, ढुङगेधार आसपास क्षेत्रमा बसोवास गर्ने पुवर थापा कपिल गोत्रका ४१ घरपरिवारका करिब २०० जनाले आगाको भुँग्रोमा १२ डांग्रे नचाएर खली खुवाएका हुन्।

यसरी खली खुवाउने काम सम्पन्न गर्न धामी गुरुहरुले तान्त्रिक विधिअनुसार एक महिना लगाएर कपिल गोत्रका पुवर थापा घर परिवारले मान्दै आएका महाकाली, दक्षिणकाली र सोही कुलका १२ जना नयाँ डांग्रेहरु तयार परेका थिए।

ती डांग्रेहरु १२ वर्षका बच्चादेखि ७८ वर्षका वृद्धसम्म छन्। उनीहरु आगोको राप अर्थात कोइलामा खाली खुट्टाले टेकेर आगो पूर्ण रुपमा निभाएपछि पाको वायु भएको मानिन्छ।

कुलायन पूजामा सहभागी बनेका डांग्रेहरुले खाली खुट्टाले आगोको भुंग्रोमा जान आफूहरुलाई शुरुमा डर लागे पनि पछि मज्जाले नाच्न सकेको प्रतिक्रिया दिएका छन्।
कुलपूजामा कुलको जिम्मा लिन तयार हुने व्यक्तिलाई डांग्रे भन्ने गरिन्छ।

खली खुवाउने दिन बेलुका ती डांग्रेहरुलाई गुरुसहित १०८ भारी दाउराको भुंग्रो खरानी नबन्दासम्म नाच्न लगाउने र त्यस पश्चात विभिन्न नाममा थापिएको देवी देवतालाई बली दिइ डांग्रेहरुलाई बत्ती खुवाएर खली खुवाउने काम सम्पन्न गर्ने परम्परा छ।

धामी गुरु धमेन्द्र विष्टले खली खुवाउने कार्य गरे आफ्नो कुल गोत्रमा कोही अकालमा मृत्यु भए मोक्ष पाउने र आफ्नो कुल देवतालाई मान्दा प्रगति हुने विश्वास रहेको बताए।

आगोको भुंग्रोमा खाली खुट्टाले नाच्ने काम सामान्य नभए तापनि दैविक शक्तिकै कारण सम्भव भएको अर्का धामी गुरु साजन थापाले बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 112

प्रतिक्रिया (०)

सम्बन्धित खबर