Aamsanchar

नेपालमा पनि चिनियाँ नयाँ वर्षको रौनक,के विश्व पर्वका रुपमा विकास हुँदै गएको हाे ?

Author Image
आइतवार, माघ २८, २०८०

काठमाण्डौ – चिनियाँ नयाँ वर्षको रौनक नेपालमा पनि देखिएको छ । छिमेकी देश चीनको नयाँ वर्षका अवसरमा काठमाण्डौमा पनि विभिन्न कार्यक्रम भैरहेका छन् । चीनमा साँस्कृतिक रीतिरिवाज लुनार पात्रो अनुसार निर्धारण गरिन्छ । अनि पात्रो अनुसार नयाँ वर्ष प्रायः जनवरी वा फेब्रुअरीमा पर्छ ।

हिजो फेब्रुअरी १० तारिखमा चिनियाँ ड्रयागन वर्ष सुरु भयो । बाह्र वर्षको एउटा चक्र हुन्छ । हरेक वर्षलाई एउटा जनावरले प्रतिनिधित्व गर्छ । अर्थात् बाह्र वर्षको चक्रमा मुसा, गोरु, बाघ, खरायो, ड्रयागन, सर्प, घोडा, बाख्रा, बाँदर, भाले, कुकुर र सुँगुर छन् । यो वर्ष ड्रयागन वर्ष हो ।

नयाँ वर्षमा नयाँ कपडा लगाउने, त्यसमा पनि प्रायः रातो रङ्ग रोजाइमा पर्छ । आफ्नो नयाँ वर्ष मनाउन चिनियाँहरु कर्मथलोबाट आफ्नो घर जाने गर्छन् । जतिसुकै टाढा भए पनि चिनियाँहरु कम्तीमा वर्षमा एक पटक मुख्यगरी नयाँ वर्षमा आफ्नो परिवारसँग भेट्ने कोसिस गर्छन् ।

नयाँ वर्षको बिदामा चिनियाँहरू घुम्ने र रमाउने गर्छन् । चीनको लुशान विश्वविद्यालयमा अध्यापन गराउँदै आएका प्रमोद काफ्ले चीनको नयाँ वर्षलाई नेपालको मुख्य चाड दशैँसँग तुलना गर्नुहुन्छ । नयाँ वर्ष उत्सवको अन्तिम दिनलाई लालटिन डे भनिन्छ ।

यो हप्ता काठमाण्डौका विभिन्न ठाउँमा कार्यक्रम भएका छन् । हिजो दशरथ रङ्गशालामा दुई देशका फुटबल खेलाडीबिच मैत्रीपूर्ण खेल भयो । यो खेल नेपालले ५–१ गोलले जित्यो । रङ्गशालामा नृत्य तथा कलाकौशल पनि प्रस्तुत गरिएको थियो ।

गएको बुधवार काठमाण्डौको रत्नपार्कमा चिनियाँ रातो लाल्टिन बालियो । ठमेल, हाँडीगाउँको गहनापोखरी, भक्तपुरको दरबार स्क्वायर, पाटन दरबार स्क्वायरमा कार्यक्रम भैरहेका छन् । गएको डिसेम्बर २२ तारिखमा संयुक्त राष्ट्रसङ्घीय महासभाको ७८औँ अधिवेशनले चन्द्रमासको नयाँ वर्षलाई दिवसका रूपमा अपनाउने प्रस्ताव सर्वसम्मतिले पारित गरेको थियो ।

राष्ट्रसङ्घीय दिवस बनेपछि स्प्रिङ फेस्टिभल अर्थात् वसन्त पर्व अब चीनको मात्रै नभएर विश्व पर्वकारुपमा विकास भएको लुशान विश्वविद्यालयमा अध्यापन गराउँदै आएका प्रमोद काफ्लेको विश्लेषण छ । यूएनले नै मान्यता दिएपछि चिनियाँले संसारभर उत्साहपूर्ण रुपमा नयाँ वर्ष मनाइरहेका उहाँ बताउनुहुन्छ ।

भूगोल, जनसङ्ख्या, अर्थतन्त्र र उपभोक्ता बजारमा चीन अब्बल नै छ । उसका हरेक गतिविधिले विश्वमा प्रभाव राख्छन् । त्यसैले पनि चिनियाँ नयाँ वर्ष र यससँग जोडिएको संस्कृतिले यतिबेला नेपालसहित विश्वका विभिन्न देशका मानिसको ध्यान तानेको मानिन्छ ।

चीनमा मात्रै नभइ नेपाल, थाइल्याण्ड, भियतनाम, कोरिया, इण्डोनेसिया, मलेसियालगायत अरु देशमा पनि चिनियाँ नयाँ वर्ष मनाउने गर्छन् । नेपालमा नयाँ वर्षका रुपमा विक्रम सम्वत्, नेपाल सम्वत्, अंग्रेजी नयाँ वर्षलगायत मनाउने गरिन्छ । विगतमा चिनियाँ नयाँ वर्षलाई सामान्यरुपमा कार्यक्रम गरी मनाउने गरिन्थ्यो । तर यसपाली चिनियाँ नयाँ वर्षको अवसरमा वृहत् र भव्य कार्यक्रम भएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 50

प्रतिक्रिया (०)