Aamsanchar

कालीगण्डकी नदीमा नेशनल र्‍याफ्टिङ  च्याम्पियनसिप

Author Image
सोमवार, माघ २९, २०८०

पर्वत – पर्वत र बागलुङका सिमानामा रहेको कुश्मा नगरपालिका–१ मालढुङ्गास्थित कालीगण्डकीमा नदीमा नेशनल र्‍याफ्टिङ च्याम्पियनसिप प्रतियोगिता सुरु भएको छ।

गण्डकी प्रदेशलाई साहसिक खेलकुदको गन्तव्य बनाउने उद्देश्यका साथ पहिलो पटक प्रतियोगिताको आयोजना गरिएको हो। प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजनामा चार दिन सम्म सञ्चालन हुने प्रतियोगिताको पहिलो दिन राष्ट्रिय कायाक सालोलम प्रतियोगिता सुरु भएको परिषद्का कार्यालय प्रमुख तोपलाल भुसालले जानकारी दिए।

आइतबार सम्पन्न राष्ट्रिय कायाक सालोलम प्रतियोगितामा तनहुँका प्रमोद गुरुङले आफ्ना दुई हिटमा कुल ८६ं।६१ मिनेटको समय लिँदै पहिलो भएका छन्। प्रतियोगितामा उदयपुरका डम्बर बहादुर पूर्वाछानेले ८७।०२ मिनेटको समयमा दोस्रो स्थान हासिल गर्दा चितवनका शक्ति कुमार गुरुङ तेस्रो भएका छन्।

उनले कुल ९०।१ मिनेटको समय लिए। यस्तै ९१।८९ मिनेट समय लिँदै चितवनका नवीन श्रेष्ठ चौथो हुँदा ९१।८९ मिनेटमा दुरी पार गरेका खोटाङका प्रशान्त राई पाँचौँ स्थानमा आएका छन्। राष्ट्रिय कायाक सालोलम प्रतियोगितामा प्रतियोगितामा २५ जनाले प्रतिस्पर्धा गरेका थिए।

प्रतियोगिता अन्तर्गत सोमबार र मङ्गलबार र्‍याफ्टिङ अन्तर्गतका अन्य दुई प्रतिस्पर्धाहरू हुने सहाशिक खेलकुदका संयोजक एवं परिषद्का बोर्ड सदस्य वसन्तराज दवाडीले बताए। उनका अनुसार सोमबार स्प्रेन हेड टु हेड र मङ्गलबार सालोलम डाउन रिभर रेस हुने छ।

प्रतियोगितामा विजेता खेलाडीहरूलाई नगद सहित मेडल तथा प्रमाणपत्र वितरण गरिने छ। प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो, चौथो र पाँचौँ स्थान प्राप्त गर्ने खेलाडीहरूलाई पुरस्कार स्वरूप क्रमशः नगद ३०, २०, १५, १० र ५ हजार रुपैयाँ प्रदान गरिने छ।

प्रतियोगितामा र्‍याफ्टिङतर्फ १२ टिम र कायाक सालोलुम कानुको प्रतिस्पर्धामा ५० भन्दा बढी खेलाडीको सहभागिता रहेको छ। प्रतियोगितामा सात प्रदेश, विभागीय टिम र अन्य क्लबहरूको समेत सहभागिता छ। यही प्रतियोगिताबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडीहरूको समेत छनोट हुने छ।
कालीगण्डकीलाई साहसिक खेलकुदको गन्तव्य बनाउन परिषद्को पहलमा गत माघ २० गते यो प्रतियोगिताको बारेमा अध्ययन गरिएको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 46

प्रतिक्रिया (०)

सम्बन्धित खबर