Aamsanchar

७ करोड ७७ लाख ठगी गर्ने चारजना पक्राउ

Author Image
बुधवार, फागुन २, २०८०

काठमाडौं – विभिन्न बहानामा करोडौं रकम ठगी गर्ने चारजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा काभ्रेपाल्चोकका ३३ वर्षीय कुमार थापा,स्याङ्जाका ४२ वर्षीय मिना दमै,सिन्धुलीका ४३ वर्षीय रविन कुमार थापा र सप्तरीका ३९ वर्षीय दिलीप कुमार लाभ रहेका छन्। उनीहरू उपत्यकाको विभिन्न स्थानबाट पक्राउ परेका हुन्।

उनीहरूमाथि ७ करोड ७७ लाख ५९ हजार रुपैयाँ ठगी गरेको आरोप छ। उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी रविन्द्र रेग्मीले पोखराका व्यवसायीसँग सुन खरिद गरी ठूलो रकम ठगी गरेको आरोपमा मुद्दा दर्ता भइ पक्राउको पत्राचार भएपछि उनीहरूलाई नियन्त्रणमा लिएको जानकारी दिए।

सूचना अधिकारी रेग्मीका अनुसार सुनका गरगहना विदेशमा निर्यात गर्दैछौं भनी पोखराका विभिन्न व्यवसायीहरूसँग सुन खरिद गरी विश्वासमा पारी रकम ठगी गरेको भन्दै थापाविरुद्ध वीरेन्द्र सुनारले जिल्ला प्रहरी कार्यालय कास्कीमा २ करोड विगोको मुद्दा दर्ता गरेका थिए।

 

जिल्ला प्रहरी कास्कीले पक्राउका लागि उपत्यका अपराध अनुसन्धान कार्यालयमा पत्राचार गरेपछि प्रहरीले थापालाई नियन्त्रणमा लिएको हो। थापामाथि अनुसन्धानका क्रममा ठगी गर्ने कार्यमा अन्य तीनजना दमै,थापा र लाभको समेत संलग्नता देखिएको हो। उनीहरूको सीआरएस रिपोर्टले विभिन्न अपराधमा संलग्न भइ फरार रहेको देखाएको छ।

पक्राउ परेकी मीनाको नाममा जिल्ला प्रहरी कास्कीमा १ करोड ७० लाख ५९ हजार विगो र चितवनमा १ करोड ३६ लाख ठगी गरेको देखिएको छ। रविन कुमार चितवनमा ४ वटा बैंकिङ तथा ठगी मुद्दामा २ करोड ४५ लाख ठगी गरेको र काठमाडौंमा तीनवटा मुद्दामा फरार रहेको देखिएको छ। यसैगरी दिलीप कुमार दुईवटा मुद्दामा फरार देखिएको प्रहरी अनुसन्धानले देखाएको छ।

दिलिपलाई जिल्ला अदालत काठमाडौंमा पठाएकोमा सर्वोच्च अदालतबाट बन्दी प्रत्यक्षकरणको रिटबाट जरिवाना दाखिला गरेको देखिएपछि उनलाई छोडिएको प्रहरीले जनाएको छ।

उनीहरूले पोखराका सुनचाँदी पसलमा पहिलो पटक १० लाख,दोस्रो पटक २० लाख र तेस्रो पटक ५० लाखका गहना खरिद गरी विश्वास जितेपछि १ करोड ८० लाखका गहना बाहिर निर्यात गर्ने भनी चेक दिइ योजनावद्ध रुपमा ठगी गरी फरार रहेको सुन्धानका क्रममा खुल्न आएको छ।

यसैगरी उनीहरूले चारजनाको समूह बनाइ विभिन्न बहानामा विभिन्न व्यक्तिहरूलाई ठगी गर्ने र ठगी गर्ने क्रममा सुनका गहना,गाडी र जग्गाको कारोबार गर्ने देखाइ विश्वासमा पार्न ठूलो कारोबार भएको देखाउने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 32

प्रतिक्रिया (०)

सम्बन्धित खबर