Aamsanchar

केराबारीमा आमा- छोरीमाथि खुकुरी प्रहार, एक पक्राउ

Author Image
बिहिवार, फागुन ३, २०८०

विराटनगर – मोरङको केराबारीमा आमा- छोरीमाथि बिहीबार बिहान खुकुरी प्रहार भएको छ । खुकुरी प्रहारबाट केराबारी गाउँपालिका–९ भलुवाईकी अन्दाजी ५० वर्षीया जमुनादेवी राई र उनकी छोरी २५ वर्षीया रेणुका राई घाइते भएका छन् । खुकुरी प्रहारबाट दुवैजनाको टाउको,अनुहारलगायत शरीरका विभिन्न भागमा चोट लागेको छ । अवस्था मध्यम रहेका उनीहरुलाई उपचारका लागि विराटनगरको विराट नर्सिङ होममा भर्ना गरिएको छ ।

आमा-छोरीमाथि लेटाङ नगरपालिका–१ का अन्दाजी ५२ वर्षीय नीरकुमार राईले बिहान ९:३० बजेतिर खुकुरी प्रहार गरेको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले बताए । उनका अनुसार खुकुरी हान्ने नीरकुमार जमुनादेवीका भान्जा हुन् । नीरकुमारकी श्रीमतीले दोस्रो बिहे गरेको विषयलाई लिएर दुई पक्षबीच विवाद हुँदा घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

‘नीरकुमारसँग सम्बन्ध विच्छेद गरेर श्रीमतीले दोस्रो बिहे गरिछन् । आफूबाट अलग बनाएर श्रीमतीको दोस्रो बिहे गराइदिएको आरोप उनले माइजूलाई लगाउँदै आएको खुलेको छ,’ प्रहरी स्रोतले भन्यो, ‘माइजूलाई आक्रमण गर्नका लागि नीरकुमार खुकुरी र पेस्तोल बोकेर घरमै पुगेका थिए । घरमै पुगेर पेस्तोल ताक्दै खुकुरीले प्रहार गरेको पाइयो ।’

 

पेस्तोल भने प्रहार नगरेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार सुरुमा उनले माइजू जमुनादेवीलाई खुकुरीले हानेका थिए । त्यसपछि छुट्याउन गएकी रेणुकालाई पनि प्रहार गरिएको प्रहरीले जनाएको छ । खुकुरी प्रहार हुन थालेपछि जमुनादेवीका परिवारले प्रतिकार गरेका थिए । प्रतिकारबाट नीरकुमारसमेत घाइते भएको प्रहरीको भनाइ छ ।

अनुहारमा चोट लागेका उनलाई हतियारसहित नियन्त्रणमा लिएर प्रहरीले उपचारका लागि नगर अस्पताल बेलबारीमा भर्ना गरेको छ । प्रहरी नियन्त्रणमा उपचार गराइरहेका उनी बोल्न सक्ने अवस्थामा छैनन् । माइजू र बहिनी (माइजूकी छोरी) लाई खुकुरी हानेका आरोपीको साथबाट एउटा सक्कली र अर्को नक्कली पेस्तोलसमेत फेला परेको छ ।

एसपी पोखरेलका अनुसार नीरकुमारको साथबाट अटोमेटिक पेस्तोल र म्याग्जिनसहित ४ राउण्ड गोली बरामद भएको छ । ‘मेड इन चाइना’ लेखेको नक्कली पेस्तोलसमेत फेला परेको उनले बताए । सक्कली र नक्कली पेस्तोल तथा घटनामा प्रयोग गरिएको खुकुरीसहित नीरकुमारलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

इलाका प्रहरी कार्यालय बेलबारीबाट इन्सपेक्टर तेजबहादुर दाहाल नेतृत्वको टोली घटनास्थलमा पुगेको छ । प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान अघि बढाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 43

प्रतिक्रिया (०)