Aamsanchar

‘कुकुर होस्टल’ बनाउने नगरपालिकाकाे तयारी

Author Image
सोमवार, फागुन ७, २०८०

बागलुङ – बागलुङ जिल्लाको बागलुङ नगरपालिकाले कुकुरहरूका लागि ‘कुकुर होस्टल’ बनाउने भएको छ। बागलुङ बजार क्षेत्रमा भेटिने कुकुरको व्यवस्थापनका लागि नगरपालिकाले नगर प्रबद्र्धन कार्यक्रमअन्तर्गत ‘होस्टल’ बनाउन लागेको हो।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलले मुख्यमन्त्री कार्यालय गण्डकी प्रदेशसँगको साझेदारीमा नगरपालिकाले होस्टल बनाउन लागेको बताए। उनले १ करोड लागतमा बागलुङ नगरपालिका–१३ को कालाखोलामा ‘कुकुर होस्टल’ बनाउन लागेको बताए। उनले होस्टलका लागि नगरपालिकाले ३५ लाख र मुख्यमन्त्री कार्यालयले ६५ लाख रूपैयाँँ बेहोर्ने सम्झौता भएको जानकारी दिए। चालु वर्षभित्रै कुकुर होस्टल बनेर सञ्चालनमा आउने नगरपालिकाले जनाएको छ।

नगरपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा बजार क्षेत्रका कुकुरहरूको व्यवस्थापनका लागि कुकुर होस्टल बनाउने नीति ल्याएको थियो। सोही नीतिअनुसार प्रदेश सरकारसँगको समन्वयमा बानपा–१३ मा कुकुर होस्टल सञ्चालन गर्न लागिएको बागलुङ नगरपालिकाले जनाएको छ।

 

नगरप्रमुख वसन्तकुमार श्रेष्ठले सडकमा छाडा छाडिने कुकुरबाट हुने जोखिम र रेबिजलगायतका रोग नियन्त्रण गर्न होस्टल सञ्चालन गर्नु परेको बताए। उनले कुकुरले टोकेर वर्षमा धेरैजना घाइते भएको, रेबिज रोगसमेत लाग्ने जोखिम बढेकोले त्यसको अन्त्यका लागि छाडा कुकुरहरूको व्यवस्थापनका लागि कुकुर होस्टल बनाउन लागिएको बताए। नगरपालिकाले घरघरमा पालिएका र सडक कुकुरलाई रेबिजविरुद्धको खोपसमेत लगाउँदै आएको छ। ‘हामीले घर पालुवा कुकुर अनिवार्य दर्ता गर्ने प्रावधान गरेर दर्ता प्रक्रिया सञ्चालन गरिरहेका छौं,’ नगरप्रमुख श्रेष्ठले भने, ‘घरपालुवा र सडक कुकुरलाई रेबिजविरुद्धको खोपसहित सबै औषधि निःशुल्क गर्दै आएका छौं।’

उनले छाडा कुकुरलाई खोप लगाएर मात्रै होस्टलमा राखिने जानकारी दिए। ‘हामीले सडकमा छाडा छाडिएका कुकुरलाई खोप लगाएर मात्रै होस्टलमा राख्छौं,’ नगरप्रमुख श्रेष्ठले भने, ‘सडकमा छाडा छाडिएका कुकुर कसैले पाल्न चाहेमा नगरको अनुमतिले लैजान सक्नेछन्। सबै कुकुरको तथ्यांक राख्ने र मृत्युपछि लगत कट्टा गर्ने व्यवस्था गरेका छौं।’

नगरपालिकाले छाडा कुकुर व्यवस्थापनका लागि घरपालुवा कुकुरलाई घरधनीले २ सय रुपैयाँँ शुल्क तिरेर दर्ता गर्नुपर्ने नीति बनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 53

प्रतिक्रिया (०)

सम्बन्धित खबर