Aamsanchar

विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा पर्यटक आउने क्रम शुरु

Author Image
मङ्गलवार, फागुन ८, २०८०

खुम्बु – विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा पर्यटक आउने क्रम शुरु भएको छ । चिसोका कारण हिउँदमा केही समय आवागमन ठप्प बनेको खुम्बु क्षेत्रमा फागुन लागेसँगै स्वदेशी तथा विदेशी पर्यटक आउने क्रम शुरु भएको हो ।

पर्यटक प्रहरी कार्यालय नाम्चे सोलुखुम्बुको तथ्याङ्क अनुसार अहिले दैनिक ५० देखि ६० जनासम्म विदेशी पर्यटक खुम्बु प्रवेश गरिरहेका छन् । फागुन लागेसँगै पर्यटक आउनेक्रम बढ्न थालेको पर्यटक प्रहरी इञ्चार्ज प्रहरी हबलदार शङ्कर खत्रीले बताउनुभयो । खुम्बु भित्रिने पर्यटकमा विशेषगरी कोरियन र चाइनिज धेरै रहेका पर्यटक प्रहरी कार्यालयको तथ्याङ्क छ ।

सिजनको शुरुवात भएकाले आउने पर्यटकको तुलनामा फर्कने कम छन् । तर यसवर्ष विगतको तुलनामा खुम्बुमा हिमपात कम भएको छ । यस वर्ष हिमपात नहुँदा लुक्लाबाट देखिने डाँडाहरु उराठलाग्दा बनेका स्थानीय तोयाकुमार श्रेष्ठले बताउनुभयो ।

सगरमाथा क्षेत्रमा पर्यटक आउनेक्रम शुरु भएसँगै खुम्बुका पर्यटन व्यवसायी पनि व्यवसायमा फर्किन थालेका छन् । चिसो छल्न काठमाण्डौ, पोखरा, भारतको बौद्धगयालगायतका क्षेत्रमा गएका व्यवसायीहरु अहिले फर्किन थालेको खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ का वडाध्यक्ष लक्ष्मण अधिकारीले जानकारी दिनुभयो ।

सिजनको शुरुवातमै पर्यटक आवागमनले उत्साहित बनाएको स्थानीय व्यवसायी ल्हेमी शेर्पाले बताउनुभयो । ‘अफ सिजन’ मा बन्द भएका होटलहरु झण्डै ४० प्रतिशतभन्दा धेरै खुलिसकेका नाम्चेका पर्यटन व्यवसायी लामा काजी शेर्पाले बताउनुभयो ।

खुम्बुमा वर्षको दुई सिजन, फागुन, चैत्र, वैशाख र असोज, कात्तिक, मंसिरलाई मुख्य पर्यटकीय सिजन मानिन्छ । पर्यटक आवागमन शुरु भएसँगै तेन्जिङ हिल्लारी विमानस्थल लुक्ला सोलुखुम्बुमा पनि यात्रुको चाप बढेको छ ।

काठमाण्डौबाट सगरमाथा क्षेत्र आउने विदेशी तथा स्वदेशी पर्यटकको सङ्ख्या बढेसँगै काठमाण्डौ–लुक्लाको जहाजमा यात्रुको चाप बढेको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 52

प्रतिक्रिया (०)

सम्बन्धित खबर