Aamsanchar

दाङमा स्वर्गद्वारी आश्रमका मोही किसान आन्दाेलित

Author Image
मङ्गलवार, फागुन ८, २०८०

घोराही- दाङका स्वर्गद्वारी आश्रमका मोही किसानले जग्गामा एकल स्वामित्वको माग गर्दै आन्दोलनमा उत्रिएका छन् । स्वर्गद्वारी आश्रमको नाममा दर्ता स्रेस्ता कायम भएको जग्गा रहेको द्वैद्य स्वामित्व अन्त्य गर्दै किसानको नाममा हुनुपर्ने माग गर्दै गुठी पीडित किसानले मङ्गलबार घोराहीमा प्रदर्शन गरेका हुन् ।

आन्दोलनमा उत्रिएका किसानहरूले मङ्गलवार घोराहीमा प्रदर्शनसँगै मोहीमा किसानको स्वामित्व कायम गर्न माग गरेका छन् । आन्दोलनमा उत्रिएका किसानले माग सम्बोधन नभएसम्म आन्दोलन नरोकिने समेत बताएका छन् । स्वर्गद्वारी आश्रमको दाङमा रहेको सात सय ५३ बिगाहा जग्गामा मोही कायम छ ।

मोहियानी हकका लागि भएका विभिन्न चरणका आन्दोलन र सरकारसँग पटकपटक सम्झौता भएपनि त्यसको कार्यान्वयन नभएको भन्दै किसानहरूले अबको आन्दोलन निर्णायक भएको स्वर्गद्वारी गुठी पीडित मोही किसान सङ्घर्ष समितिका अध्यक्ष प्रभु चौधरीले जानकारी दिनुभएको छ । स्वर्गद्वारी आश्रमअन्तर्गत जिल्लाका १२ मौजाका किसानहरू आन्दोलनमा सहभागी भएका छन् । उहाँले भन्नुभयो, ´पटक पटकको सहमतिमा जोतभोग गर्दै आएका किसानलाई जग्गा दिन्छु भन्ने तर विभिन्न बहाना देखाएर वञ्चित गर्ने कार्य भएपछि बाध्य भएर आन्दोलनमा उत्रिएका छौँ । यो आन्दोलनलाई अब निष्कर्षमा पुर्याएर रोकिने छौँ ।`

माग कार्यान्वयनका लागि जिल्ला प्रशासन कार्यालयमा २४ घण्टे धर्नादेखि पूर्व पश्चिम राजमाग बन्द, विभिन्न राजनीतिक दल तथा प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाउने लगायतका आन्दोलनका कार्यक्रमहरू रहेको सङ्घर्ष समितिका अध्यक्ष चौधरीले बताउनुभएको छ ।

सर्वोच्च अदालतले २०६२ चैत्र १४ गते स्वर्गद्वारी विशेष प्रकारको निजी गुठी भएकाले आश्रमको जग्गा खण्डीकरण नगर्नु नगराउनु भन्ने परमादेश जारी गरेका कारण किसानहरू मोही हकबाट वञ्चित भएका छन् । दाङमा स्वर्गद्वारी आश्रमअन्तर्गत १०५० निगाह जग्गामध्ये ७ सय ५३ बिगाहामा मोही रहेको छ भने ३ हजार ५ घरधुरीका १५ हजार किसानहरूले आश्रमको जग्गा जोतभोग गदै आएका छन् ।

सङ्घर्ष समितिले पुस्तौँदेखि गुठी जमिन जोत्दै आएका दर्तावाल वा बेदर्तावाल ठेककुत बुझाएको तर मोही नजनाइएको जग्गा मोही किसानका नाममा कम्तीमा ७५ प्रतिशत रैकर सरह दर्ता गरी जग्गाको लालपुर्जा दिइनुपर्ने र बाँकी रहेको २५ प्रतिशत जग्गा सरकारी दर रेटमा किस्ताबन्दीमा मोही किसानलाई नै किन्नदिनु पर्ने, गुठी जमिन कमाई आएका मोही किसानले बुझाउन पर्ने जिन्सी अन्य भुक्तानी गर्न बाँकी कुतको हालसम्मको कुल लगत निकाली ८० प्रतिशत छुट दिने व्यवस्था मिलाउनुपर्ने सङ्घर्ष समितिका अध्यक्ष चौधरी बताउनुहुन्छ ।

अध्यक्ष चौधरीका अनुसार विभिन्न बहानामा मोही निष्कासन गरिएको तर कुतबाली बुझाइ आएका किसानलाई मोही पुनर्बहाली गरी सोही सरह जमिन दिनुपर्ने, गुठीका नाममा देखिएका किसानले जोतभोग गर्दै आएका तर मोही नलागेका जमिन किसानकै नाममा दर्ता गरिनुपर्ने, मोहीका नाममा जग्गा दर्ता गर्दा प्राप्त हुने राजस्वको स्थायी कोष बनाएर प्राप्त आम्दानीले स्वर्गद्वारी आश्रमको व्यवस्थापन गरिनुपर्ने माग गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 51

प्रतिक्रिया (०)

सम्बन्धित खबर