Aamsanchar

फार्मभित्र छिरेका भुस्याहा कुकुरले ४ लाख रुपैयाँभन्दा बढीका कुखुरा मारे

Author Image
बिहिवार, फागुन १०, २०८०

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका–११ अमरपुरस्थति आशा ऐरको कुखरा फार्मभित्र छिरेका भुस्याहा कुकुरले ४ लाख रुपैयाँभन्दा बढीका कुखुरा मारेका छन्।

आज (बिहीवार)विहान कुखुरा फार्मको तारजाली तोडेर भित्र पसेको भुस्याहा कुकुरको हुलले अण्डा दिने लेयर्स जातका ६ सय कुखुरा मारेका हुन्। सयभन्दा बढी कुखुरा घाइते छन्।

“बैंकबाट १२ लाख रुपैयाँभन्दा बढी कर्जा निकालेर १ हजार २ सय अण्डा दिने कुखुरा पालेका थियौँ”, फार्म सञ्चालक आशाले भने, “दैनिक कुखुराले ४ पेटी जति अण्डा दिँदै आएका थिए, भुस्याहा कुकुर फार्मभित्र छिरेर कुखुरा मारिदिएपछि निकै ठूलो नोक्सानी बेहोर्न बाध्य भएका छौँ।”

फार्ममा ५ सयजति कुखुरामात्रै बाँकी रहेको उनले बताए। फार्मभित्र कुकुरले कुखुरा मारेर खान थालेपछि कुखुरा कराएको आवाज सुनेर कुकुर लखेटेको उनले बताए।

वडाध्यक्षको रोहवरमा प्रहरी मुचुल्का तयार गरिएको उनको भनाइ छ। नगरपालिका क्षेत्रमा भुस्याहा कुकुर नियन्त्रण नहुँदा किसानले निकै सास्ती खेप्नुपरेको स्थानीय जयबहादुर ऐरले बताए।

“पोल्ट्री फार्मभित्रै छिरेर आज ठूलो सङ्ख्यामा कुखुरा मारिदिए, बाटो हिँडने बटुवालाई पनि झम्टिने गरेको छ”, उनले भने, “धेरै जनालाई टोक्दा उनीहरुले रेबिजको खोप लगाइरहेका छन्।”

नगरपालिकाले भुस्याहा कुकुर नियन्त्रण गर्नुपर्ने उनको भनाइ छ। कुखुरा फार्म सञ्चालकले सम्बन्धित निकायलाई क्षतिपूर्तिको व्यवस्था गरिदिनका लागि पनि आग्रह गरेका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 53

प्रतिक्रिया (०)

सम्बन्धित खबर