Aamsanchar

हिमपात तथा वर्षाले सोलुखुम्बुका किसान उत्साहित

Author Image
शुक्रवार, फागुन ११, २०८०

साेलु – हिमपात तथा वर्षाले सोलुखुम्बुका किसानहरु खुसी भएका छन् । लामो समयको खडेरीको मार खेपेका किसानहरु वर्षा तथा हिमपातपछि उत्साहित भएका हुन् । हिउँदे वर्षा नहुँदा जमिन सुक्खाग्रस्त बन्दै गएको थियो भने डाँडापाखाहरु समेत उराठ लाग्दा बनेको थियो ।

तर ढिला गरी भए पनि फागुनमा परेको वर्षा तथा हिमपातले केही राहतको महसुस गरेको सल्लेरीका ल्हाक्पा शेर्पाले बताउनुभयो । हिमपात नहुँदा लेकाली भेगका किसानले लगाएका गहुँ, उवा, जहुँ जस्ता बालीहरु खडेरीको चपेटामा परेका थिए ।

तल्लो भेगमा समेत हिउँदे वर्षा नहुँदा बालीनाली सुकेर जानुका साथै जमिन नै मरुभूमि जस्तो बन्दै गएको पञ्चनका केशव प्रसाद कोइरालाले बताउनुभयो । वर्षाले खडेरीले सुकेका बालीहरु फस्टाउने आशा रहेको उनीहरुले बताएका छन् ।

यसैबीच, हिमपातपछि सगरमाथा क्षेत्रका पर्यटन व्यवसायी र त्यहाँँ पुगेका पर्यटकहरु पनि खुसी भएका छन् । खडेरीले उराठलाग्दा बनेका पर्यटकीय क्षेत्रहरु रसिलो देखिएको लुक्लाकी दाटी शेर्पाले बताउनुभयो ।

यतिखेर लुक्लाबाट देखिने डाँडाहरु हिउँले भरिएर सेताम्मे बनेका छन् । पर्यटकहरु समेत हिउँ खेल्नमा व्यस्त रहेको लुक्लाका स्थानीय तोया कुमार श्रेष्ठले जानकारी दिनुभयो । हिजो लुक्ला, नाम्चे, पत्ताले, पिकेडाँडा, जुनबेसी, रातनागी लगायतको क्षेत्रमा हिमपात भएको स्थानीयले बताएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 45

प्रतिक्रिया (०)