Aamsanchar

विराटनगरस्थित कोशी अस्पतालमा मेडिकल अधिकृतको भर्ना प्रक्रिया स्थगित

Author Image
शुक्रवार, फागुन ११, २०८०

विराटनगर – विराटनगरस्थित कोशी अस्पतालमा ३ जना मेडिकल अधिकृतलाई भर्ना गर्न अघि बढाइएको प्रक्रिया स्थगित गरिएको छ।

स्वार्थपूर्ण र विवादास्पद हिसावले विज्ञापन गरेर आठौं तहको फरेन्सिक विज्ञ, जनरल सर्जन र माइक्रोबायोलोजिस्ट नियुक्त गर्न खोजिएको थियो।त्यसका लागि फागुन ४ गते विज्ञापन गर्दै ७ दिनको छोटो समय दिएर दरखास्त आह्वान गरिएको थियो।भर्ना प्रक्रिया स्थगित गरिएसँगै आफू निकटलाई करारमा अस्पताल भिœयाउन गरिएको चलेखल असफल भएको छ।विज्ञापन गरिएको पदमा दरखास्त लिएर अन्तर्वार्ताका भरमा ३ जनालाई सरकारी अस्पतालमा फागुन ११ गते चिकित्सक नियुक्त गर्ने तयारी भएपछि चौतर्फी विरोध भएको थियो।

विकास समितिको निर्णय र विभागीय प्रमुखको राय एवं परामर्शबिना नै अन्तर्वार्तामार्फत मेडिकल अधिकृतमा सुटुक्क आफ्ना मान्छेलाई नियुक्ति दिने हिसाबले अस्पताल विकास समितिका अध्यक्ष डा। फरवार्ड सिलवाल, मेडिकल सुपरिटेन्डेन्ट डा। चन्द्रभाल झालगायतको मिलेमतोमा विज्ञापन गरिएको हो।अन्तर्वार्ताको मिति र समय फागुन ११ गते बिहान ११ बजेलाई तोकिएको थियो।एउटै सूचनामा ३ वटा अलगअलग विज्ञापन नम्बर राखेर शंकास्पद हिसाबले दरखास्त आह्वान गरिएपछि सरोकारवालाले विरोध जनाएका थिए।

 

अस्पताल प्रशासनले बुधबार सूचना जारी गरेर प्राविधिक कारणले अन्तर्वार्ता तत्काललाई स्थागित गरिएको जनाएको छ।अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। चन्द्रभाल झाको हस्ताक्षर रहेको सूचनामा अन्तर्वार्ताको नयाँ मिति र समय अर्को सूचना प्रकाशन गरी जानकारी गराइने उल्लेख छ।‘मिति २०८०/११/११ गते हुने भनिएको विज्ञापन नं ०७/२०८०/८१, ०८/२०८०/८१ र ०९/२०८०/८१ मेडिकल अधिकृत आठौं तहको अन्तर्वार्ता प्राविधिक कारणले गर्दा हाललाई स्थागित गरिएको बेहोरा अनुरोध छ।सो सम्बन्धमा अन्तर्वार्ताको नयाँ मिति र समय अर्को सूचना प्रकाशन गरी जानकारी गराइने छ,’ सूचनामा भनिएको छ ।

सञ्चार माध्यममा ‘कोशी अस्पतालमा रोकिएन मनोमानी, चिकित्सक नियुक्त गर्न अर्को चलखेल’ शीर्षकमा समाचार प्रकाशन भएका थिए।समाचार सार्वजनिक भएपछि चिकित्सक, कर्मचारी तथा सरोकारवालाको विरोधसँगै मनोमानी हिसाबले गर्न लागिएको मेडिकल अधिकृतको नियुक्ति प्रक्रिया स्थगित गर्न अस्पताल प्रशासन बाध्य भएको हो।स्रोतका अनुसार ‘सेटिङ’ मिलाउँदै आर्थिक चलखेल गरेर स्वार्थपूर्ण हिसाबबाट खुला प्रतिस्पर्धाबिना नै आठौं तहका चिकित्सक नियुक्त गर्न खोजिएको थियो।अस्पतालले यसअघि माघ ४ गते २१ दिनको म्याद दिँदै आठौं तहको १० जना मेडिकल अधिकृत, सातौं तहको १ जना नर्सिङ अधिकृत, पाँचौं तहको ३० जना स्टाफ नर्स, २ जना बायोमेडिकल टेक्निसियन र ७ जना फार्मेसी सहायक गरेर ५० जना कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको थियो।त्यसमध्ये मेडिकल अधिकृतमा ५८, नर्सिङ अधिकृतमा ४३, स्टाफ नर्समा ३ सय ९६, बायोमेडिकल टेक्निसियनमा ७ र फार्मेसी सहायकमा १४९ जनाको दरखास्त परेको छ ।

तर, भर्नाका लागि परीक्षाको अलगअलग मापदण्ड बनाउँदै अस्पतालले गरेको विज्ञापन रद्ध गर्नुपर्ने आवाज उठिरहेको छ।त्यतिबेला पाँचौं तहलाई लिखित र अन्तर्वार्ता दुवै लिने तथा त्योभन्दा माथिको सातौं तहलाई अन्तर्वार्ता मात्रै लिएर नियुक्ति दिने गरी विज्ञापन गरिएको थियो।यस विषयमा जिल्ला प्रशासन कार्यालय मोरङ र अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट छानबिन भइरहेको छ।

अस्पतालले दरखास्तका लागि २१ दिनको म्याद दिएर लिखित र अन्तर्वार्ता दुवैमार्फत १० जना मेडिकल अधिकृतलाई नियुक्त गर्ने गरी माघ ४ गते विज्ञापन गरेको थियो।पहिलो विज्ञापन विवादमा तानिएर छानबिनमा परेका बेला फेरि त्यसको ठीक १ महिनापछि मेडिकल अधिकृतलाई अन्तर्वार्तामार्फत नियुक्ति दिने भनेर ७ दिनको मात्रै म्याद दिँदै अर्को विज्ञापन गरिएको हो।सिधैं अन्तर्वार्ताका भरमा ३ जना मेडिकल अधिकृत राख्न खोजिएसँगै विकास समिति र अस्पताल प्रशासनको कामकारबाहीमाथि प्रश्न उठेको छ।मनोमानी हिसाबले अध्यक्ष र मेसुको मिलेमतोमा एउटै पदका लागि १ महिनाबीचमा अलगअलग विज्ञापन गरेर परीक्षाको मापदण्ड पनि फरकफरक तोकिएपछि अस्पताल प्रशासन तथा समितिले गलत नियम राखेर काम गरिरहेको प्रष्ट भएको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 45

प्रतिक्रिया (०)

सम्बन्धित खबर