Aamsanchar

भद्रपुरमा दुषित मासु जफत, गराइयो जरिवाना

Author Image
शुक्रवार, फागुन ११, २०८०

भद्रपुर- झापाको भद्रपुर नगरपालिकाले आज यहाँका मासु पसल र मिठाइ पसलको अनुगमन गरेको छ ।

उपप्रमुख राधा कार्कीको नेतृत्वमा गरिएको अनुगमनका क्रममा यहाँका ८ वटा मासु–माछा पसल र दुई वटा मिठाइ पसलमा अनुगमन गरिएको हो । अनुगमनका क्रममा भद्रपुर–८ सगरमाथा चोकस्थित एमडी मासु पसल, आधुनिक प्रेस हाउस लगायतको अनुगमन गरिएको थियो ।

आधुनिक फ्रेस हाउसमा दुषित मासु फेला परेकाले ११ हजार रुपैयाँ जरिवाना गरिएको नगरपालिकाका अधिकृत छैठौं राजेन्द्र प्रसाद ढकालले जानकारी दिनुभयो । फ्रेस हाउसबाट २० केजी मासु समेत जफत गरेर नष्ट गरिएको उहाँले बताउनुभयो ।

अनुगमन गरिएका अधिकांश मासु पसल सरसफाई नभएको, मूल्यसूची नराखिएका, इजाजत नलिएको, कर नतिरेकाले मापदण्ड अनुसार सञ्चालन गर्न निर्देशन दिइएको छ । नगरको बजार अनुगमन संयोजक तथा उपप्रमुख कार्कीले बारम्बार सचेत गराउँदा पनि मासु पसलहरुले अटेर गरेको बताउँदै अब उप्रान्त त्यस्तो पाइए कडा कारबाही गरिने बताउनुभयो ।

“बारम्बार सचेत गराइरहेका छौं, अब पनि नमाने कडा कारबाही गर्छौं”, उहाँले भन्नुभयो, “मानव स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने खाद्य वस्तुमा हेलचेक्र्याइँ गर्ने कसैलाई छुट छैन ।” उहाँले नगरपालिकाले अनुगमन गर्दा सच्याउने भन्दा पनि व्यवसायीले स्वयम् चनाखो हुनुपर्ने उहाँले बताउनुभयो । भन्नुभयो, “व्यवसायीको पनि दायित्व हो, सबै नगरपालिकाले नै गर्नुपर्छ भन्ने होइन ।”
झापा चोकको रवि होटल, मन्त्री चोकको हिमाल कोल्ड सेन्टरमा अनुगमन गरिएको छ । हिमाल कोल्ड सेन्टरमा मिति गुज्रिएको सामान राखिएको र अनुमति बिना मदिराजन्य वस्तु बिक्री गरेको पाइएकाले इजाजत लिन निर्देशन दिइको छ । होटलमा सरसफाइ लगायतका काम गर्न निर्देशन दिइएको छ ।

अनुगमन टोलीमा उपप्रमुख कार्की, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला, जिल्ला प्रशासन कार्यालयका जीवन पौडेल, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका संगीता साह, झापा उद्योग बाणिज्य संघका सञ्जय घोष, नापतौल कार्यालय सहायक निरीक्षक अमितकुमार कर्ण, नगरपालिकाका सुनिल कर्ण, वडा प्रहरी कार्यालयका निरकुमार श्रेष्ठ, पत्रकार सन्तोष शर्मा लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 37

प्रतिक्रिया (०)

सम्बन्धित खबर