Aamsanchar

विराटनगरबाट खैरो हेरोइनसहित तीनजना पक्राउ

Author Image
सोमवार, फागुन १४, २०८०

विराटनगर – विराटनगरबाट लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)जस्तो देखिने वस्तुसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१४ का २१ वर्षीय दिपेशसिंह ठकुरी, विराटनगर–१५ का २० वर्षीय सेजन राई र विराटनगर–१७ का १९ वर्षीय शिवम थापामगर रहेका छन् । लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको टोलीले उनीहरूलाई विराटनगर–१३ बाट सोमबार बिहान ७ बजेतिर पक्राउ गरेको हो ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखेर अनुसन्धान सुरू गरिएको छ । प्रदेश १–००१ ह १७८३ नम्बरको सीटी सफारीमा सवार रहेका बेला तीनैजनालाई पक्राउ गरिएको उनले बताए । पक्राउ परेकाको साथबाट १४।४० ग्राम ब्राउन सुगरजस्तो देखिने वस्तु बरामद भएको जानकारी दाहालले दिए ।

उनीहरुविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ । प्रहरीका अनुसार तीनैजना ब्राउन सुगरको कारोबारमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । भारतको जोगवनीबाट ब्राउन सुगर भित्राएर नेपालका विभिन्न स्थानमा पुर्‍याउँदै बिक्री गर्ने गरेको प्रहरीको भनाइ छ ।

 

ठकुरी, राई र थापामगरले ब्राउन सुगरको धन्दा चलाइरहेको जानकारी केही दिनअघि प्राप्त भएपछि प्रहरीले उनीहरूको पिछा गर्न थालेको थियो । ब्राउन सुगरजस्तो देखिने वस्तु ठकुरीको साथबाट बरामद भएको हो । बरामद भएको उक्त वस्तु ७० हजार रूपैयाँमा जोगवनीबाट खरिद गरेर ल्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

नेपाल ल्याएर विभिन्न स्थान पुर्‍याउँदै बिक्री गर्दा दोब्बर बढी मूल्य पर्ने प्रहरी अधिकारीहरु बताउँछन् । प्रहरीले गरेको प्रारम्भिक सोधपुछका क्रममा पक्राउ परेकाहरुले सामूहिक रूपमा ब्राउन सुगर नेपाल ल्याएर बिक्री गर्ने गरेको बताएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 20

प्रतिक्रिया (०)

सम्बन्धित खबर