Aamsanchar

झापामा चैते धान खेति प्रति किसानहरूको आकर्षण बढ्दै

Author Image
सोमवार, फागुन १४, २०८०

गाेरखापत्र

दमक- आधुनिक प्रविधिको प्रयोग, माटो सुधार र स्थानीय सरकारले बीउ बिजन तथा मल खादमा समेत सहयोग गर्न थालेपछि झापामा चैते धानको खेती विस्तार हुँदै गएको छ । किसानहरूले कम लागतमा खेती गर्ने उपायको खोजी गर्न थालेका छन् ।

लागत कम र बढी मूल्य पाउन थालेपछि चैते धानमा किसानहरूको आकर्षण बढ्दै गएको हो । बजारको पनि सुनिश्चितता हुन थालेको छ । उत्पादित धान ठुला मिलहरू किन्ने भएपछि उत्पादन गरेको धान नबिक्ने समस्यामा कमी आउन थालेको अगुवा किसानहरूले बताउन थालेका छन् ।

कचनकवलका अगुवा किसान कन्यैलाल गणेशका अनुसार पछिल्लो समयमा आधुनिक तवरबाट धानको ब्याड राख्ने देखि लिएर मेशिनले धान रोप्ने कार्यप्रति आकर्षण बढेको छ । सुरुमा आफूहरूले खास नपत्याए पनि अहिले भने उत्पादन बढेको र उत्पादन लागत कम भएको उहाँले जनाउनु भयो ।

झापा जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत धान सुपर जोन क्षेत्र पनि घोषणा गरिएको थियो । २०७३ सालमा कचनकवल गाउँपालिका र भद्रपुरको केही वडा मात्रमा परियोजना लागु भए पनि २०७७ सालदेखि उक्त परियोजना झापाभर विस्तार भएपछि चैते धान खेतीमा उल्लेख्य वृद्धि भएको पाइएको छ ।

कृषि ज्ञान केन्द्र झापाले पनि आधुनिक प्रविधि हस्तान्तरण र उन्नत तवरले धान खेतीको प्रदर्शनी कार्यक्रम अन्तर्गत किसानलाई चैते धान रोप्नका लागि प्रोत्साहित गर्दै आएको बताइएको छ । पालिकाहरूका कृषि शाखासँग समन्वय गरेर प्रविधि प्रयोग गरेर चैते धान खेती विस्तारका लागि आवश्यक सहयोग गरिँदै आएको हो ।

कृषि ज्ञान केन्द्र झापाका निमित्त प्रमुख सागर विष्टका अनुसार कनकाई सिँचाइ आयोजना क्षेत्र लगायतका विभिन्न पालिकाहरूमा उन्नत प्रविधि प्रदर्शन कार्यक्रम अन्तर्गत मेशिनबाट धान रोपाइँ गर्न आवश्यक तयारी पुरा गरिएको छ । शिवसताक्षी नगरपालिका वडा नं. ४, गौरा दह नगरपालिका वडा नं. ९, गौरीगंज गौरी गन्ज गाउँपालिका वडा १ र कमल गाउँ पालिकामा ट्रे मा धानको ब्याड राख्ने काम भएको छ ।

यस वर्षको चैते सिजनमा चैते ५ जातको धान यस प्रविधि प्रयोग गरेर रोपिने उहाँले जानकारी दिनु भएको छ । उत्पादित धानको बजार सुनिश्चित पनि भएको विष्टले बताउनु भएको छ । आर्जु राइस मिल, मोरङले यहाँ उत्पादन भएको धान खरिद गर्ने प्रतिबद्धता गरेको उहाँले बताउनु भयो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई झापाका प्रमुख रवीन्द्र सुबेदीका अनुसार प्रविधि प्रयोग गरेर चैते धान खेती गर्ने किसानहरूको सङ्ख्या बर्सेनि बढ्दै गएको छ । पछिल्लो समयमा उत्पादन लागत मूल्य कम र बजार मूल्य सन्तोषजनक भएपछि किसानहरू यसमा आकर्षित भएको उहाँको भनाई छ ।

परियोजनाको रणनीतिक उद्देश्य अनुसार भूमिको वैज्ञानिक उपयोग, आधुनिक कृषि प्रविधिहरूको अवलम्बन, कृषिमा यान्त्रिकीकरण, कृषि उपजहरूको प्रशोधन तथा बजारीकरण पूर्वाधारहरूको विकास, प्रतिफलमा आधारित प्रोत्साहन प्रणालीको अवलम्बन, गुणस्तर नियन्त्रण तथा खाद्य स्वच्छता अभिवृद्धि, वातावरण परिवर्तन अनुकूलित कृषि प्रणाली अवलम्बन गरिँदै आएको छ । परियोजनाले न्यूनतम रूपमा पनि हरेक पालिकामा कम्तीमा एकै स्थानमा २ सय बिगाहा जमिनमा चैते धान खेती विस्तार गरेको थियो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 50

प्रतिक्रिया (०)

सम्बन्धित खबर